२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

विवादित भिडियोबारे शाहीको स्पष्टीकरण : मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीप्रति लक्षित गरी दिएको भनिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण दिएका छन्। 

जापान भ्रमणमा रहेका बेला आफूमाथि आक्रमणको प्रयास भएको भन्दै एक व्यक्तिले भिडियो सार्वजनिक गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। त्यसक्रममा उनले प्रयोग गरेका शब्दहरूले विदेशमा रहेका नेपालीप्रति लक्षित गरेको भन्दै आलोचना भएपछि उनले पुनः स्पष्ट पारेका हुन्।

शाहीले आफूले सबै नेपालीलाई नभई केही निश्चित समूहलाई मात्र लक्षित गरेर बोलेको बताएका छन्। उनले भनेका छन्, ‘मैले विदेशमा रहेका सबै नेपालीले कुरा बुझ्दैनन् भनेको होइन। मेरो भनाइ विशेष गरी टीओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू र खराने ग्याङका अन्धसमर्थकहरूप्रति हो।’

उनले अरूको चरित्र हत्या गरेर पैसा कमाउने काम गरिरहेका समूहप्रति आफ्नो आक्रोश रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘जो अरूको चरित्रमाथि आक्रमण गरेर, अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूले बनाएका भिडियो र प्रयोग गरेका शब्दहरू यिनैका बुबा-आमा र दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सहज हुँदैनन्।’

नेता शाहीले आफूले सम्मानजनक भाषा र विचारको वकालत गरेको बताउँदै थपेका छन्, ‘यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन। जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको आवाजलाई सम्मान गर्दैन, मेरो टिप्पणी त्यस्ता प्रवृत्तिप्रति हो-विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति होइन।’

आफूले व्यक्त गरेको भनाइको बचाउ गर्दै उनले आलोचना गर्ने अधिकार सबैमा रहेको तर त्यो मर्यादित हुनुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘आलोचना गर्नु सबैको अधिकार हो, तर त्यो सत्यतथ्यमा आधारित, सभ्य, मर्यादित र जिम्मेवारीपूर्ण हुनुपर्छ।’

यसअघि भाइरल भएको भिडियोमा शाहीले जापानको ओसाकामा आफूमाथि आक्रमण भयो भनी झुटो प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले आफू पूर्ण रूपमा सुरक्षित रहेको र आफ्नो कार्यक्रम भव्य रूपमा सफल भएको समेत बताएका छन्।

प्रकाशित: ३ श्रावण २०८३ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App