१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आयोगको तथ्याङ्क: ७ दल खारेज, ७ नयाँ दर्ता, कति छन् लाइन्‌मा ?

निर्वाचन आयोगले आइतबारसम्म नेपालमा १ सय २२ वटा राजनीतिक दल क्रियाशील रहेको जानकारी दिएको छ।

अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा कायम रहेको दल संख्या र हालको संख्या बराबर देखिए पनि यस अवधिमा नयाँ दल दर्ता हुने र पुराना खारेज हुने क्रम भने निरन्तर चलिरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा ७ वटा नयाँ राजनीतिक दलले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् भने सोही अवधिमा ७ वटै पुराना दलको दर्ता खारेज भएको छ।

यसले गर्दा दलको कुल संख्यामा परिवर्तन नआएको हो। प्रवक्ता भट्टराईले भने, ‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए। आजका दिनमा पनि दर्ता भएका राजनीतिक दलको संख्या १२२ नै छ। यो बीचमा ७ वटा राजनीतिक दल खारेज भएका छन् भने त्यति नै दल थपिएका छन्।’

खारेजीमा परेका ७ दलमध्ये एक दललाई अदालतको आदेशअनुसार खारेज गरिएको थियो भने अन्य ६ दलका पदाधिकारीहरूले नै स्वैच्छिक रूपमा दल खारेजीका लागि आयोगमा निवेदन दिएका थिए।

यसैबीच, आयोगमा थप २८ वटा नयाँ राजनीतिक दल दर्ताको प्रक्रियामा रहेका छन। आयोगले यी दलहरूको निवेदनमाथि आवश्यक सनाखत र कागजात रुजुको काम गरिरहेको जनाएको छ।

दर्ता प्रक्रियामा रहेका दलहरूमध्ये ‘राष्ट्रिय जेन जी पार्टी नेपाल’ ले भने आइतबार आफ्नो निवेदन फिर्ता लिएको छ। उक्त समूह ‘उज्यालो पार्टी नेपाल’ मा समाहित हुने सहमति बनेको दलका अभियन्ता हिराप्रसाद सेतीले जानकारी दिए।

‘उज्यालो पार्टी नेपाल’ ऊर्जामन्त्री कुलमान घिसिङ निकट मानिने दल हो। जसमा जेन-जी आन्दोलनका केही अभियन्ताहरू पनि सामेल भएका छन्।

आगामी निर्वाचनलाई लक्षित गरी नयाँ दल दर्ता गराउने होडबाजी चलेको देखिन्छ। राजनीतिक दलसम्बन्धी ऐनअनुसार, दल दर्ताका लागि कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति, विधान, घोषणापत्र, र ५०० जना मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता पत्र आवश्यक पर्दछ।

आयोगले प्रक्रिया पूरा भएका दलहरूलाई ४५ दिनभित्र दर्ता प्रमाणपत्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। अब आयोगमा दर्ता हुन २७ दल बाँकी छन्। सो राजनीतिक दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App