मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा सात दलका सांसद मधेस भवन अगाडि धर्नामा बसेका छन्। मुख्यमन्त्री यादव नियुक्ति असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू सोमबारदेखि आन्दोलनमा उत्रेका छन्।
आन्दोलनमा उत्रिएका सात दलका सांसदलाई मधेस भवनमा प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य गेटमै धर्ना दिएका छन्। नवनियुक्त मुख्यमन्त्री यादवलाई मधेस भवन प्रवेश गर्न नदिनका लागि सात दलका सांसदसहित कार्यकर्ताहरू गेट टायर बालेर बिहानैदेखि प्रदर्शनमा उत्रेका हुन्।
मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सांसदहरू सडकमा धर्नामा बसेपछि आवतजावत ठप्प बनेको छ।
एमाले, राप्रपा र संघीय समाजवादीबाहेकका दलहरु आन्दोलनमा उत्रिएका हुन्। रातारात प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएका थिए।
तस्बिर : सुरेन्द्र यादव/नागरिक





प्रकाशित: २५ कार्तिक २०८२ १४:०१ मंगलबार





