आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।
यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ। सो समितिको बैठकमा ‘बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्ष’ माथि छलफल हुँदैछ। बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
अपराह्न १ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसम्बद्ध उजुरीमाथि छलफल गर्ने कार्यसूची छ। बिहान ११ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘विगतका कोप सम्मेलनमा भएको निर्णय-सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयन लागि नेपाल सरकारबाट भए गरेका कामकारबाहीका बारेमा’ छलफल हुनेछ।
यस्तै, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) मा सहभागिताका लागि नेपालको तयारीका बारेमा पनि सरकारका सम्बद्ध अधिकारीसँग जानकारी लिने कार्यक्रम छ।
प्रकाशित: २७ श्रावण २०८३ ०६:१८ बुधबार





