सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उनले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गरिन् ।
राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उनले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताइन।
मन्त्री न्यौपानेले भनिन्, “जनता खुसी र सुखी हुनुपर्छ । सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।” उनले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राखिन् ।
मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताइन्।
प्रकाशित: ८ भाद्र २०८२ १८:१७ आइतबार





