४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

माओवादीसँग एकताको विपक्षमा रहेका एकीकृत समाजवादीका नेताको छुट्टै भेला, को-को सहभागी

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने निर्णयसँगै पार्टी दुई भागमा विभाजन भएको छ । नेपाल समूह एकताको पक्षमा गएको छ भने सम्मानित नेता झलनाथ खनाल नेतृत्वको समूह बेग्लै छलफलमा जुटेको छ ।  

यो समूहले पार्टीलाई थप मजबुद बनाउने र पुनर्गठनको आवाजलाई सशक्त पारेको थियो ।  

यही क्रममा पार्टीको केन्द्रीय समिति बैठकले केही नेताको फरकमत रहे पनि सर्वसम्मत रुपमा नेकपा माओ‌वादी केन्द्रसहितका पार्टीसँग एकता गर्ने निर्णय गरेको बैठकपछि हिजो पार्टीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका थिए ।  

लोकतान्त्रिक पद्धतिबाट नेताको फरकमत रहेपनि पार्टीले एकताको सर्वसम्मत निर्णय गरेको ज्वालाले बताए पनि आजको परिदृश्यले पार्टी विभाजनमा गएको देखिएको छ ।  

नेकपा एकीकृत समाजवादीको खनाल नेतृत्वको समूहले सुकेधारामा भेला थालेको छ । भेलामा सम्मानित नेता खनालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन्।

खनालकै नेतृत्वमा नयाँ पार्टी पुनर्गठनको आवाज उठिरहेका बेला एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब घनश्याम भुसालको नेतृत्वमा अघि बढ्नुपर्ने बताएका छन् । उनले सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए ।  

माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुराकानीमा उनले अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए। नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने उनको तर्क थियो ।  

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौँ। सबै कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौँ र मिल्दै जान्छौँ। अहिले हामी माधवजीहरूसँग अलग हुन्छ। अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौँ।’

प्रकाशित: १५ कार्तिक २०८२ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App