२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन्। ‘परिवारमा उनीहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो’, उपराष्ट्रपतिले भनेका छन्।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्धमात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्ने स्पष्ट पारेका छन्।

ज्येष्ठ नागरिकको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता भएको उपराष्ट्रपतिको कथन छ। उनले यसैबाट पुस्ताबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

‘हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ मानेको छ। आधुनिकताको नाममा उनीहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो। संस्कृति र आधुनिकताको समन्वय गर्दै उनीहरूको गरिमा पुनः स्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्छ’, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्।

उपराष्ट्रपतिले भनेका छन्, ‘वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो। ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उनीहरूको सुस्वास्थ्य र सुखमय जीवनको लागि हार्दिक मंगलमय कामना गर्दछु।’

प्रकाशित: ११ पुस २०८२ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App