१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सचिव दुवाडीले सातदिन काठमाडौं छोड्न पाउने, विदेश जान नपाउने

भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनको अनुसन्धान गर्दै आएको भदौ २३–२४ घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि देशभर भ्रमण गर्ने अनुमति दिएको छ।  

शुक्रबार बसेको आयोगको बैठकले उनको काठमाडौं उपत्यका छाडेर सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

आयोगका अनुसार, दुवाडीले आन्दोलनको समयमा गृह मन्त्रालयको सचिवको हैसियतमा गरेको कार्य छानबिनको दायरामा पर्दछ। दुवाडीले बयान लिनुपर्ने आवश्यकता भएको जनाउँदै देशभर भ्रमणको स्वीकृति दिएको हो । दुवाडीले एक पटकमा बढीमा सात दिनका लागि उपत्यका छाडेर आवश्यक भ्रमण गर्न सक्नेछन्, तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् कायम रहने आयोगको निर्णय छ ।  

यो भ्रमणको उद्देश्य भनेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्नु र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्नु हो। दुवाडीलाई यस कार्यका लागि समितिको संयोजकको हैसियतले सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने जिम्मेवारी दिइएको छ।

त्यसैगरी, आयोगले सम्बन्धित सबै निकाय, कार्यालय, उद्योग–व्यवसाय, राजनीतिक दल, शिक्षण संस्था र व्यक्तिगत सम्पत्तिमा भएको हानी–नोक्सानीको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। आयोगले विवरण उपलब्ध गराउने इमेल ठेगाना sept8and9incident.ic@gmail.com र कार्यालय ठेगाना सिंहदरबार उल्लेख गरेको छ।

प्रकाशित: ३१ आश्विन २०८२ १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App