१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा संस्थापन पक्षको गोप्य भेला

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला संस्थापन पक्षले आन्तरिक भेला गरेको छ।

शनिबार ललितपुरको सानेपास्थित सिद्धार्थ होटेलमा नेपाली कांग्रेस संस्थापन पक्षको गोप्य भेला भएको हो।

असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको थियो। सो बैठक बस्नुअघि संस्थापन पक्षले आफ्नो रणनीति तयार गर्न भेला गरेको हो।

भेलामा सहभागी भएकाहरूले महाधिवेशनको समय लम्ब्याउने विषयमा छलफल गरेका थिए। छलफलमा जारी केन्द्रीय समिति बैठक र १५ औं महाधिवेशनको कार्यतालिकाबारे गहन विमर्श भएको बताइएपनि विशेष महाधिवेशन आह्वानका लागि गरिएको हस्ताक्षर अभियानको विषयमा छलफल भएको थियो।

शनिबार केही नेताहरू बसेर छलफल भएको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पुष्टि गरे। ‘भेटघाट हुनु छलफल हुनु सामान्य हो’, उनले भने।

भेलाको संयोजन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए। छलफलमा १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरू सहभागी भएको बताइएको छ।

विजय गच्छदार र गोपालमान श्रेष्ठ उपत्यका बाहिर रहेका कारण उनीहरूको उपस्थिति भएका थिएनन्। भेलामा सहभागी एक नेताका अनुसार खड्काको नेतृत्वमा बसेको संस्थापन पक्षको छलफलमा डा. शंशाक कोइराला पनि उपस्थित रहेका थिए। ‘मिल्ने र मिलाउने कुरा भयो,’ सहभागी एक सदस्यले भने।

ती सदस्यका अनुसार महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको हस्ताक्षर अभियान र शेखर कोइराला निकट रहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, इन्द्र रिजालका लगायतले सङ्कलन गरेको हस्ताक्षरको विषयमा व्यापक छलफल भएको थियो।

छलफलमा संस्थापन निकट रहेका नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, किशोरसिंह राठौर, डिला शर्मा, रमेश लेखक, बालकृष्ण खाँण, एनपी साउद प्रदेश सभापति इन्द्र बानिया लगायतका नेताहरू सहभागी भएका थिए।

त्यो भेलालाई संस्थापन इतर पक्षले महाधिवेशनलाई एक वर्ष पर धकेल्नगरी छलफल अगाडी बढाएको आशंका गरेका छ।

महामन्त्री गगन थापा निकट रहेका एक केन्द्रीय सदस्यले जारी केन्द्रीय समिति बैठकलाई पर धकेल्ने र विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने सदस्यहरूलाई हस्ताक्षर फिर्ता गराउन दबाब दिने उद्देश्य रहेको शंका व्यक्त गरेका छन्।

‘उहाँहरुको भेला भएछ, अहिले हस्ताक्षर फिर्ता गराउने अभियानमा लाग्नु भएको छ, साथै महाधिवेशनलाई पनि पर धकेल्न उहाँहरुको उद्देश्य रहेको देखिन्छ, महामन्त्री गगन थापा निकट रहेका ती केन्द्रीय सदस्यले भने।

आगामी मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने कि वर्तमान कार्यसमितिको म्याद थप्ने भन्ने विवाद चलिरहेका बेला संस्थापन पक्षले शनिवारको भेलाबाट मङ्सिरभित्र महाधिवेशन सम्भव नहुने निष्कर्षमा पुगेको स्रोतको दाबी छ। नेता शेखर कोइराला र महामन्त्री द्वय मङ्सिरमै महाधिवेशन गर्न सकिने बुझाइमा रहेका छन्।  

कांग्रेसमा संस्थापन पक्षका मात्र होइन संस्थापन इतर रहेका नेताहरुको पनि विभिन्न कोठे बैठकहरू हुने गरेका छन्। हस्ताक्षर सङ्कलनकै क्रममा गुरुराज घिमिरेको सम्पर्क कार्यालयदेखि बानेश्वरका एक पार्टी प्यालेसमा समेत बैठकहरू बसेका थिए।

कांग्रेसको १५ औं महाधिवेशन मंसिरभित्रै हुनुपर्ने भन्दै महामन्त्री द्वय थापा र शर्माले हस्ताक्षर सङ्कलन गराएका थिए भने शेखर कोइरालाले पनि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए।

कांग्रेस विधानमा महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित केन्द्रीय समितिमा निवेदन दिएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था भए बमोजिम ४० प्रतिशत बढीको हस्ताक्षर सङ्कलन भइसकेको थियो।

सो हस्ताक्षर असोज २९ गते नै कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो। कांग्रेसका नेता गुरुराज घिमिरेको नेतृत्वमा असोज २९  खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको थियो।

१४ औं महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए। त्यो हस्ताक्षरको संख्या ५० प्रतिशतभन्दा माथि हो। जसले गर्दा संस्थापन पक्षलाई विशेष महाधिवेशन बोलाउने दबाब परिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ २०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App