१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘जेन-जी’ भन्दै बारामा ‘विद्वानहरू’ ले हाम्रा नेतामाथि आक्रमण गरे: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरा विमानस्थलमा पार्टीका नेताहरूलाई प्रवेशमा रोक लगाइएको घटनाप्रति आक्रोश पोखेका छन्।

आफूलाई ‘जेनजी’ (नयाँ पुस्ता) बताउने समूहले एमालेको युवा भेलामा सहभागी हुन गएका नेताहरूलाई अवरोध गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

उनले ढुंगामुढा र हुलदंगा गर्ने उक्त समूहलाई ‘गुन्डा’ भन्दा शब्द नराम्रो सुनिने भन्दै ‘विद्वान’ र ‘सज्जन’ को संज्ञा दिँदै व्यङ्ग्य गरे।

बुधबार पार्टीको स्थानीय विकास विभागले आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने - ‘गुन्डा भन्दा शब्द राम्रो हुँदैन होला, केही ‘विद्वानहरू’ ले ढुंगामुढा गरे, आक्रमण गरे,’ ओलीले व्याङ्ग्यात्मक शैलीमा भने, ‘तिनीहरूलाई के भन्ने ? अब सज्जनहरूले आक्रमण गरे भन्नुपर्यो। भौतिक आक्रमण गर्ने, भेला गर्न नदिने ?’

अध्यक्ष ओलीले ५०-६० जनाको समूहले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा तोडफोड र अवरोध गर्दा पनि सरकार र प्रशासन मूकदर्शक बनेको आरोप लगाए।

उनले भने, ‘सिमरा एयरपोर्ट बन्द भयो। हाम्रा नेताहरू कार्यक्रम सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो, प्लेन नै बस्न सकेन। एअरपोर्टमै तोडफोड गर्न दिइयो।’

उनले सभा सम्मेलन गर्न नदिने र हिँडडुलमा अवरोध गर्ने परिपाटीले लोकतन्त्र र आगामी चुनावलाई नै चुनौती दिने बताए। ‘सभा गर्न नदिनेले चुनाव कसो गर्छ ? प्रचारमा जान नपाइने, कार्यक्रममा जान नपाइने भएपछि कसरी चुनाव हुन्छ ?’ ओलीले प्रश्न गरे।

एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन युवा संघका इन्चार्ज महेश बस्नेत लगायतका नेताहरू बारा जाने कार्यक्रम थियो।

तर, बस्नेतलाई जिल्ला प्रवेशमा रोक लगाउने भन्दै ‘जेनजी’ समूहका नाममा युवाहरूले सिमरा विमानस्थल घेराउ गरेका थिए।

प्रदर्शनकारीले विमानस्थल क्षेत्रमा ढुंगामुढा र नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। काठमाडौंको त्रिभुवन विमानस्थलबाट उड्ने तयारीमा रहेका एमाले नेताहरू अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह लगायतका नेताहरू सिमराको अवरोधका कारण रोकिनुपर्यो।

तनाव बढेपछि बारा जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन आज दिउँसो १२:३० देखि बेलुका ८ बजेसम्म सिमरा विमानस्थल वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार हुलदंगाका कारण सिमराका आन्तरिक उडानहरू समेत प्रभावित भएका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App