२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

भुटानी शरणार्थीको माग सम्बोधन गर्न साम्पाङको आग्रह

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य  हर्क साम्पाङले नेपालमा दशकौँदेखि बसोबास गरिरहेका भुटानी शरणार्थीहरूको माग सरकारले सम्बोधन गर्नपर्ने बताएका छन्।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले भुटानी शरणार्थीहरूले आफ्नो स्वदेश फर्किन पहल गरिदिन वा विदेशमा पुनर्स्थापित परिवारका सदस्यसँग पुनर्मिलन हुने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेको बताएका हुन्।  

उनले शरणार्थीहरूको पीडा सम्बोधन गर्न सम्बन्धित मन्त्रालय र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै देशविहीन अवस्थामा रहेका व्यक्तिको लागी सरकार संवेदनशील बन्नुपर्ने बताए।  

‘हामी आफ्नो देश, सीमा र सार्वभौमिकताबारे बहस गरिरहेका छौँ। तर दशकौँदेखि शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूको अवस्थाबारे पनि सोच्नुपर्छ,’ उनले भने।  

साम्पाङले प्रधानमन्त्रीले गत जेठ १७ गते दिएको सीमा सम्बन्धित अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग आफूहरूले निरन्तर उठाइरहेको भए पनि त्यसको सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।  

त्यसैगरी उनले रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा रक्षा मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए। रक्षा मन्त्रालयअन्तर्गतको बजेट पुस्तिका अझै सांसदहरूलाई उपलब्ध नभएको भन्दै सरकारले उक्त पुस्तिका संसदलाई उपलब्ध गराउन माग गरे। 

‘रक्षा मन्त्रालयको बजेट किताब हुन्छ कि हुँदैन? यदि हुने चलन हो भने हामीलाई किन उपलब्ध गराइएन? यसको उत्तर चाहन्छु,’ साम्पाङले प्रश्न गरे।   

प्रकाशित: ४ असार २०८३ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App