पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रणनीतिक महत्त्वको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणले आगामी दिनमा गति लिने प्रतिबद्धता जनाएका छन्।
आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरूसँग कुरा गर्दै उनले कालोपत्र गर्न बाँकी रहेका सबै सडकखण्डको चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिए।
ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीहरूमाथि सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी दिँदै मन्त्री लम्सालले ढिलासुस्ती सह्य नहुने स्पष्ट पारे।
१९७ किलोमिटर लामो यो सडकले हिमाल र तराईलाई जोड्नुका साथै अर्घाखाँची, गुल्मी, पाल्पा र बागलुङका नागरिकको आवागमन, पर्यटन, कृषि र व्यापारमा ठूलो सहयोग पुर्याउने उनले बताए।
आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको यस आयोजनामा आव २०८०/८१ सम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको थियो।
त्यसपछि आव २०८१/८२ मा ४.५ किमी र आव २०८२/८३ मा २४ किमी गरी हालसम्म जम्मा ४६.५ किलोमिटर सडक कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ।
यसैबीच, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्त्री लम्साल र मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका महत्त्वपूर्ण पूर्वाधार आयोजनाका लागि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गरेका छन्।
नगरप्रमुख श्रेष्ठले करिब ३० करोड रुपैयाँ खर्च भइसकेर पनि अधुरो रहेको अर्घा भगवती विमानस्थलको धावनमार्ग (रनवे) निर्माण, सन्धिखर्क बजारको पार्किङ व्यवस्थापन, गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा सालझण्डी सडक खण्डमा पर्ने घर/भवनको मुआब्जा क्षतिपूर्तिका लागि बजेट सुनिश्चित गर्न माग गरे।
साथै, ठेक्का रद्द भएको ढुङ्गेखोला-सालझण्डी खण्डमा तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्नसमेत ध्यानाकर्षण गराए।
प्रकाशित: २३ श्रावण २०८३ १९:०१ शनिबार




