२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपामा पदाधिकारी निर्वाचनमा ‘नो भोट’ व्यवस्था हुनुपर्ने सागर ढकालको प्रस्ताव

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले पार्टीको पदाधिकारी निर्वाचनमा ‘नो भोट’ (कुनै उम्मेदवारलाई समर्थन नगर्ने) को व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिलो चरणको निर्वाचनमा यस्तो व्यवस्था सम्भव नभए पनि पदाधिकारी चयन प्रक्रियामा भने यो विषय उठाउने बताएका हुन्।

उनले ९९ जना केन्द्रीय सदस्य चयन हुनु आवश्यक रहेको उल्लेख गर्दै अबको पदाधिकारी निर्वाचनमा ‘नो भोट’ को विकल्प राख्नुपर्ने धारणा व्यक्त गरे।

ढकालले भने, “नो भोटको व्यवस्था हामीले राख्नुपर्छ। ९९ जना केन्द्रीय सदस्य त निर्वाचित हुनुपर्‍यो, तर पदाधिकारीको निर्वाचनमा नो भोटको विकल्प राख्ने विषय उठाउँछौँ।”

उनले आफू अहिले निर्णय गर्ने तहमा नभए पनि यस्तो व्यवस्था लागू गर्न पार्टीभित्र दबाब सिर्जना गर्ने बताए। पदाधिकारी तहमा पुगेर पार्टीको कार्यदिशामा हस्तक्षेप गर्न चाहेको संकेत गर्दै उनले पार्टीलाई पुरानै राजनीतिक अभ्यासतर्फ फर्कन नदिने धारणा राखे।

उनका अनुसार अहिलेको महाधिवेशन अपेक्षाअनुसार हुन नसकेको अनुभव भएको छ र देखिएका कमीकमजोरीलाई सुधार गर्दै पार्टीलाई अगाडि बढाउन आवश्यक छ।

ढकालले पार्टीभित्र वैकल्पिक राजनीतिक अभ्यास र आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन निर्वाचन प्रक्रियामै सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

प्रकाशित: ११ असार २०८३ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App