२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

रुपन्देही ३ उपनिर्वाचन: उम्मेदवारी दिँदै काठमाडौं महानगरका कानूनी सल्लाहकार अर्याल !

काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल।

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट निर्वाचित दीपक बोहराको निधन भएसँगै उक्त क्षेत्र रिक्त छ। यसपछि कात्तिक १७ गते उपनिर्वाचन गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको छ।

उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन्। नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि तयारी थालिसकेका छन्।

यता सात मधेसकेन्द्रित दलहरू सङ्घीय लोकतान्त्रिक मोर्चा नै बनाएर उपनिर्वाचनमा होमिएका छन्। मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले उम्मेदवार पठाउँदैछ।

यही पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकार ओमप्रकाश अर्यालले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिने चर्चा चलेको छ। अधिवक्ता अर्यालले काठमाडौं महानगरपालिका प्रमुखमा बालेन शाह निर्वाचित भएयता कानूनी सल्लाहकारको काम गर्दै आएका छन्।

उनी निकट स्रोतका अनुसार आफ्नो उम्मेदवारीबारे अर्याल अहिले आफू निकटस्थहरूसँग तीव्रत्तर छलफलमा छन्। ‘उहाँ अहिले छलफलमा हुनुहुन्छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिनेबारे छलफल चलिरहेको छ,’ स्रोतले दाबी गर्‍यो।

पछिल्लो स्थानीय तहको निर्वाचनमा अनपेक्षित रूपमा काठमाडौं महानगरपालिका प्रमुख निर्वाचित बनेका बालेन त्यसयता त्यति मुखर देखिँदैनन् तर, राष्ट्रिय राजनीतिमा उदाउनका लागि रणनीति बनाइरहेको चर्चा हुने गर्छ।

अर्यालको उम्मेदवारी पनि त्यसकै कडी भएको रूपमा बुझिएको छ। जसै, अर्याल र बालेनको ‘टर्म’ मिलेकै देखिन्छ ! महानगरविरुद्धका मुद्दादेखि कानूनी तथा रणनीतिक तवरले बालेनले चाल्नुपर्ने कदमसम्ममा अर्यालले सल्लाह दिने गरेका छन्। बालेनले उनै अर्याललाई उम्मेदवार बनाउन लागेको बुझिएको छ।

प्रकाशित: २८ श्रावण २०८२ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App