२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राप्रपाले झापा-५ मा एमालेलाई सघाउँदैछ भन्ने हल्ला निराधार : भिम पौडेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष भिम पौडेलले नेकपा एमालेसँग कुनै ‘जेन्टिलमेन एग्रिमेन्ट’ नभएको स्पष्ट पारेका छन्।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा सेयर गरेको एक भिडियोमा पौडेलले यस्तो बताएका हुन्। उनले राप्रपाले दमक नगरपालिकामा भावी मेयरका रूपमा आफूलाई अघि सार्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग सहमति गरेको भन्ने प्रचारप्रति आपत्ति जनाएका हुन्। उक्त विषयमा कुनै पत्रकारले आफूलाई सम्पर्क नगरेको र फैलाइएको समाचार पूर्ण रूपमा भ्रामक रहेको उनले बताएका छन्।

पौडेलले आफू पार्टीको 'बफादार सिपाही' भएको उल्लेख गर्दै पार्टीको नीति, निर्देशन र निर्णयअनुसार नै अघि बढिरहेको बताए। 'म पार्टीको जिम्मेवारीमा रहेको व्यक्ति हुँ। भ्रम फैलाएर कार्यकर्तामा अन्योल सिर्जना गर्ने प्रयास भइरहेको छ,' उनले भने।

उनले क्षेत्र नम्बर ५ मा राप्रपाका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवारका रूपमा अघि सारेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए। व्यक्तिगत कारणले केही दिन सक्रिय रूपमा उपस्थित हुन नसकिएको स्वीकार गर्दै उनले त्यसलाई गलत अर्थ नलगाउन आग्रह गरे।

पौडेलले पार्टीका सम्पूर्ण नगर, क्षेत्र र वडास्तरीय कार्यकर्तालाई भ्रममा नपरी आफ्ना आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न आह्वान गरेका छन्। 'धर्म, संस्कृति र पार्टीको आदर्श जोगाउन हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ,' उनले भने।

उनले पार्टीलाई उच्च स्तरमा राख्दै जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित: १४ फाल्गुन २०८२ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App