राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासनको पक्षमा जेन-जी पुस्ताको हस्तक्षेपपछि परिवर्तित राजनीतिक परिवेशमा मुलुकको दीर्घकालीन रूपान्तरणका लागि बृहत् राजनीतिकलाई तीव्रता दिएको छ।
पार्टी सचिवालयको कार्तिक ९ र ११ गते बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै आसन्न निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। बृहत् राजनीतिक संवादमा रास्वपाले समान सोच र शैली भएका व्यक्ति र समूहहरूबिच बृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा प्रवास र स्वदेशका आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक र अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबिच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै यो संवाद गर्न लागिएको उल्लेख छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीले परिवर्तनको पक्षधर दल र व्यक्तिहरूसँग द्विपक्षीय संवाद भइरहेको जानकारी दिए।
नागरिकसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले भने, ‘परिवर्तनका पक्षधरहरू जसले जेन-जी आन्दोलनलाई नैतिक समर्थन गरे, उनीहरू सबैसँग हामी वैचारिक छलफलमा छौँ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित जनमत पार्टी, नागरिक उन्मुक्ति, नयाँ शक्ति, हाम्रो नेपाली दल लगायतसँग संवाद भइरहेको छ।’ बुर्लाकोटीले संवादमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित ऊर्जामन्त्री कुलमान घिसिङसँगसमेत छलफल भइरहेको बताए।
प्रकाशित: १२ कार्तिक २०८२ १३:४० बुधबार





