१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बागलुङमा रास्वपाको ‘क्लिन स्वीप’: दुवै क्षेत्रमा भत्कियो पुराना दलको विरासत

प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा रास्वपाले क्लिन स्वीप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा दुबै क्षेत्रमा रास्वपा उम्मेदवारहरू विजयी हुँदै क्लीन स्वीप गरेका हुन्। 

बागलुङ क्षेत्र नम्बर १ बाट सुशिल खड्का र क्षेत्र नम्बर २ बाट सोम शर्मा विजयी भएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा खड्काले निकटतम प्रतिस्पधी नेपाली काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन्। उनी बागलुङ नगरपालिका—३ का हुन्।

निर्वाचनमा विजयी खड्काले २० हजार ९२७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी श्रीसले ११ हजार ९४४ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले ८ हजार ६४० मत ल्याएका छन्। चित्रबहादुर केसीको विरासत जोगाउने जिम्मा सहित चुनावी मैदानमा उत्रिएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत ल्याएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण विक्रम आचार्यले ५२३ र श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४ मत पाएका छन्। बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवार भएका अन्य पाँच जनाले भने तीन अंकमा मत पुर्‍याउन सकेनन्। बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सोम शर्माले नेपाली काँग्रेसका टेकराज पौडेललाई पराजित गरेका छन्।

उनले निकटतम प्रतिस्पर्धी पौडेललाई ७७९ मतले पछि पार्दै जित हाँसिल गरेका हुन्। शर्मा बागलुङ नगरपालिका—१२ जन्मघर भई हाल बागलुङ नगरपालिका रात्माटाका स्थायी बासिन्दा हुन्। विजयी भएका शर्माले १२ हजार ६४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका पौडेलले ११ हजार ८६८ मत ल्याएका छन्। 

नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाएका छन्। नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ७ हजार ८६४ र श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनले ५६४ मत ल्याएका छन्। निर्वाचन अघि पाहुना उम्मेदवारको ट्याग लागे पनि शर्माले निर्वाचन जितेर देखाएका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ००:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App