चीनको शान्सी प्रान्तमा भएको विनाशकारी खानी दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समवेदना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत यो पीडादायी समयमा आफ्नो हृदय शोक सन्तप्त परिवारहरूप्रति रहेको र बेपत्ता रहेकाहरूको सुरक्षित उद्धारको आशा गर्दै कठिन समयमा चीनसँग एकताबद्ध रहेको बताएका छन्।
उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा शुक्रबार भएको ग्यास विस्फोटमा परी २४७ कामदार फसेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार रातिसम्म ८२ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता र १२८ जना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि ३३५ पेशेवर उद्धारकर्ता, ४२० स्वास्थ्यकर्मी र भूमिगत माइन निरीक्षण रोबोटहरू खटाइएको छ। ग्यास सेन्सर र क्यामेरा जडित यी रोबोटले उद्धारकर्मी पुग्न नसक्ने ठाउँको डाटा संकलन गरिरहेका छन्।
अनुसन्धानका क्रममा खानीमा प्रवेश गर्दा सार्वजनिक बोर्डमा १२४ जनाको मात्रै रेकर्ड देखिए पनि वास्तविक रूपमा २४७ जना भूमिगत रहेको फेला परेको छ। बाँकी १२३ जनाको प्रणालीमा वैध जानकारी नभएको पाइएको छ। अधिकारीहरूका अनुसार घाइतेमध्ये १२४ जना सामान्य र ४ जना गम्भीर छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुरुङ भित्र भौतिक संरचना भत्किएको र बाढी पसेकाले वाटरप्रुफ सुट लगाएका उद्धारकर्तालाई काम गर्न अत्यन्तै गाह्रो भइरहेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विशेषज्ञ टोलीमार्फत घाइतेहरूको उपचार गरिरहेको छ। राज्य परिषदको अनुसन्धान टोलीले दुर्घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कडा सजाय दिने बताएको छ। खानी कम्पनीका वास्तविक नियन्त्रक र कार्यकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने प्रभावित परिवारहरूलाई मनोवैज्ञानिक परामर्श र क्षतिपूर्ति दिने कार्य सुरु गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०८३ १२:३७ आइतबार





