राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
काठमाडौंमा ‘जेन जी’ पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि र मानवीय क्षति भएपछि पार्टीले अर्को सूचना नभएसम्मका लागि सबै कार्यक्रम रोक्ने निर्णय गरेको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालयको आकस्मिक बैठक बसिरहेको र सोही बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
‘अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गर्न तत् तत् तहगत समिति, संयन्त्रमा तत्काल सूचित गर्नुहुन निर्देशन गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सोमबार भएको ‘जेन जी’ को प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौंको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।
यसअघि आइतबार मात्रै रास्वपाले जेन जीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दमन नगर्न सरकारलाई चेतावनी दिएको थियो। साथै, आफ्ना कार्यकर्तालाई दलीय पहिचान बिना नागरिकको हैसियतमा मात्र प्रदर्शनमा सहभागी हुन आग्रह गरेको थियो।
प्रकाशित: २३ भाद्र २०८२ १७:३९ सोमबार





