प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिएको भन्दै आपत्ति व्यक्त गरेका छन्।
बैठकमा रास्वपाका सांसदहरु समीक्षा बास्कोटा र यज्ञमणि न्यौपानेले भावी प्रधानन्यायाधीश सिफारिस प्रक्रियाअन्तर्गत संवैधानिक परिषद्बाट भएको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश जारी हुनुलाई राम्रो मान्न नसकिने धारणा व्यक्त गरे।
उनीहरूले स्वतन्त्र न्यायपालिकाले आफ्नो काम गरोस् भन्नेमा आफूहरु स्पष्ट भए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने कामकारबाहीप्रति असहमति व्यक्त गरे।
तत्पश्चात् नेकपा (एमाले)का सांसदहरुले नियमापत्ति गर्दै न्यायिक कार्यका सम्बन्धमा संसद्मा छलफल नगर्ने नियमावलीको व्यवस्था विपरीत अभिव्यक्ति आएकामा आपत्ति जनाए।
प्रकाशित: ४ जेष्ठ २०८३ १५:२९ सोमबार





