२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी साहको नाम राष्ट्रपति कार्यालय पठाइएको स्रोतले जनाएको छ।

उद्योगीहरूप्रति दिएको विवादित अभिव्यक्तिका कारण चर्को आलोचना खेपेपछि यादवले आजै पदबाट राजीनामा बुझाएर मन्त्रालयबाट बाहिरिएकी थिइन्। उनले केही दिनअघि उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भनी सार्वजनिक टिप्पणी गरेकी थिइन्।

नयाँ मन्त्रीका रूपमा सिफारिस भएका साह सुनसरी क्षेत्र नम्बर-४ बाट निर्वाचित सांसद हुन्। पेसाले इन्जिनियर रहेका उनी मन्त्री बन्ने तय भएपछि निर्वाचन क्षेत्रबाट आकस्मिक रूपमा काठमाडौं फर्किएका छन्।

साह आम निर्वाचनअघि रास्वपा प्रवेश गरेका थिए। त्यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै नेतृत्वमा छुट्टै दलसमेत गठन गरेका थिए।

प्रकाशित: २५ भाद्र २०८३ १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App