१२ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनका उम्मेदवार किन असन्तुष्ट ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दै जाँदा उम्मेदवारहरूबीच असन्तुष्टि देखिएको छ। बन्दसत्र निर्धारित समयभन्दा एक दिन ढिला सुरु भएकोदेखि मतदान प्रक्रियासम्म आइपुग्दा विभिन्न उम्मेदवारहरूले सार्वजनिक रूपमा गुनासो गरेका छन्। 

असार ७ देखि ९ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको महाधिवेशन निर्धारित तालिकाभन्दा पछाडि समेत आएको छ । मतदान प्रक्रिया लम्बिँदा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत निर्वाचन व्यवस्थापन र उम्मेदवार सूचीप्रति प्रश्न समेत उठाए।  

खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवार रहेका सांसद गणेश कार्कीले मतदान मेसिनमा आफ्नो नामको क्रमबारे आपत्ति जनाए । उनले प्रारम्भिक सूचीमा आफूभन्दा पछि दर्ता भएका उम्मेदवारहरूको नाम माथि र आफूभन्दा अघि दर्ता भएकाहरूको नाम तल परेको भन्दै नामको क्रममा प्रश्न उठाए।  

यस्तैगरी रास्वपा नेता यज्ञमणि न्यौपानेले पनि आफ्नो नाम खुला सूचीको ४२ नम्बरमा राखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूभन्दा पछि उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको नाम अगाडि देखिएको र सूची अल्फाबेटिकल क्रमअनुसार पनि नरहेको बताएका छन्। यद्यपि उनले अन्तिम निर्णय मतदातामाथि निर्भर रहने बताए। 

त्यसगरी राजीव खत्रीले मतदान प्रणालीमै असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमा  निर्वाचन प्रक्रियामा ‘नो भोट’ विकल्पको व्यवस्था प्रभावकारी नभएको बताए। 

केन्द्रीय सदस्य उम्मेदवार आशिका तामाङले पनि उम्मेदवारी दर्ताको क्रममा रहेको आफ्नो नामको क्रम मतदान मेसिनमा फरक देखिएको भन्दै प्रश्न गरिन्। उनले मनोनयन दर्ताका बेला ३७ नम्बरमा रहेको आफ्नो नाम मतदान प्रणालीमा १०६ नम्बरमा पुगेको आधार स्पष्ट हुनुपर्ने माग राखिन।  

यस्तैगरी ज्वाला सङ्गौलाले मतदानको अन्तिम चरणमा आफ्नो नाम मतदान मेसिनमा आफ्नो नाम काटिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको बताइन्। 

उनले पार्टीको केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारी दर्ताका सबै चरणमा एउटै नाम प्रयोग भए पनि मतदान मेसिनमा आफ्नो नामको ‘ज्वाला’ हटेको भन्दै असन्तुष्टि व्यक्ति गरिन्।  

‘पार्टीको केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम थियो। तर मतदान मेसिन खुल्दा नामको एक हिस्सा गायब भयो। अरू उम्मेदवारको नाम भने पूर्ण रूपमा देखिएको थियो,’ सङ्गौलाले सामाजिक सञ्जालमा लेखिन्।  

महाधिवेशनमा उम्मेदवारहरूको नाम क्रम निर्धारण, मतदान प्रणालीको प्राविधिक व्यवस्थापन तथा उम्मेदवार परिचयसँग सम्बन्धित विषयमा प्रश्न उठे पनि निर्वाचन समितिले बिहिबारसम्म केही प्रतिकृया दिएको छैन। 

महाधिवेशनलाई रास्वपाले आफ्नो पहिलो ऐतिहासिक अधिवेशनका रूपमा प्रस्तुत गरे पनि निर्वाचन प्रक्रियासम्बन्धी उठेका प्रश्न र उम्मेदवारहरूको  असन्तुष्टि  समाजिक सञ्जालमा छरपष्ट भएको छ।   

प्रकाशित: ११ असार २०८३ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App