१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि ३८४ उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि ३८४ जना उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

९९ सदस्यीय निर्वाचित केन्द्रीय समितिका लागि ठूलो सङ्ख्यामा उमेदवारी परेपछि प्राविधिक तयारीका कारण मतदान प्रक्रिया भने केही समय पछि धकेलिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि सार्वजनिक गरेको सूचीअनुसार ३८४ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्।

रास्वपाको संशोधित विधानअनुसार कूल १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। जसमा ९९ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन्।

बाँकी ७ जना प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहने प्रावधान छ। पार्टी सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया उमेदवारीको सूची विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्न समय लागेकाले प्रभावित भएको हो। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ३७० भन्दा बढी उमेदवारी परेकाले दाबी–विरोध र नामावली रुजु गर्न थप केही घण्टा लाग्ने देखिएको छ ।

मतदानका लागि ‘रामलक्ष्मण इनोभेसन’ का ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदै छ। प्राविधिकहरूका अनुसार उमेदवारको लामो सूची मेसिनमा ‘इन्ट्री’ गर्न मात्रै करिब ६ घण्टा लाग्ने अनुमान छ।

निर्वाचन आयोगले एकजना प्रतिनिधिलाई मतदानका लागि १० मिनेट लाग्ने र मतदान सकिएको दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधिहरूको सहजीकरणका लागि महाधिवेशनस्थलमा तीनवटा ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको छ।

महाधिवेशनको उद्घाटन सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा गरेका थिए। प्रधानमन्त्री शाह वरिष्ठ नेतामा मनोनीत हुने आन्तरिक सहमतिपछि उनी मतदान प्रक्रिया सुरु हुनुअगावै काठमाडौं फर्किएका छन्।

प्रधानमन्त्री शाहको समूहबाट पार्टीमा जोडिएका करिब डेढ दर्जन नेताहरूले भने चुनावी प्रतिस्पर्धामा भाग नलिने रणनीति लिएका छन्। बालेन समूहका गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, पर्यटन मन्त्री गनेस पौडेलसहितका नेताहरूले उमेदवारी दिएका छैनन्।

उनीहरू सभापति लामिछानेको तजबिजमा मनोनयनमार्फत नेतृत्वमा पुग्ने तयारीमा देखिएका छन्। यद्यपि, सोही समूहका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएका छन्।

हेर्नुहोस् सूची:

प्रकाशित: १० असार २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App