२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘जेन जी’ को प्रदर्शनमा रास्वपाको ऐक्यबद्धता, दमन नगर्न सरकारलाई चेतावनी

आफ्नालाई दलीय झण्डा बोक्न रोक

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जेन जी’ पुस्ताले सोमबार गर्न लागेको शान्तिपूर्ण प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई दमन र घुसपैठ नगर्न खबरदारी गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्ना पार्टीसँग आबद्ध युवाहरूलाई पनि कुनै दलीय संकेत, नारा वा परिचय बिना नागरिकको रूपमा मात्रै ऐक्यबद्धता जनाउन आग्रह गरेको हो।

सरकारको श्रृंखलाबद्ध कुशासन, राज्यशक्तिको दुरुपयोग तथा स्वतन्त्रता र मौलिक हक हननको विरुद्धमा पछिल्लो पुस्ता (जेन जी) सडकमा उत्रिन लागेको भन्दै रास्वपाले त्यसलाई उल्लेख्य राजनीतिक परिघटना को संज्ञा दिएको छ।

‘सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

रास्वपाले नयाँ पुस्ताको यो अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया र वक्रदृष्टिमाथि आफ्नो निरन्तर निगरानी रहने स्पष्ट पारेको छ। ‘जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्‍याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

पार्टीले पछिल्लो पुस्ताको यो स्वतस्फूर्त आन्दोलनको सम्मान गर्दै यसमा कुनै पनि दलीय रंग मिसाउन नहुनेमा जोड दिएको छ। रास्वपाले आफूसँग आबद्ध समस्त युवाहरूलाई प्रदर्शनमा सहभागी हुँदा कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी नागरिकको हैसियतमा ऐक्यबद्धता प्रकट गर्न आग्रह गरेको छ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको र देशमा भ्रष्टाचार बढेको भन्दै युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा प्रदर्शनको आह्वान गरेका छन्।

प्रकाशित: २२ भाद्र २०८२ २०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App