राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका आफ्ना सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेलाई उनीहरूको उपस्थितिका कारण उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन निर्देशन दिएको छ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो निर्देशन दिएका हुन्। उनका अनुसार सांसद न्यौपाने सुरुङसम्बन्धी इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको पार्टीको बुझाइ छ।
तर उनीहरूकै उपस्थितिका कारण उद्धार कार्य असहज भएको भए तत्काल फर्काउने निर्णय यसअघि नै सभापति रवि लामिछानेसहितको बैठकले गरेको पराजुलीले बताए।
“उहाँहरूका कारणले त्यहाँ अप्ठ्यारो भएको रहेछ भने आफ्नो जिम्मेवारीमा फर्किन र त्यहाँ सहज रूपमा काम गर्न दिन निर्देशन जारी गरेको छु,” पराजुलीले भने।
उनले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्दै प्राविधिक तथा सुरक्षाकर्मीलाई सहज वातावरणमा काम गर्न दिनुपर्नेमा जोड दिए। सांसदद्वय ढकाल र न्यौपाने हाल सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारमा समन्वयका लागि फिल्डमा पुगेका छन्।
प्रकाशित: १८ भाद्र २०८३ १९:५३ बिहीबार



-600x400.jpg)

