३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

चाडपर्वअघि कालोबजारी नियन्त्रणको संयन्त्र बनाउन सरकारसँग रास्वपाको माग

भोटेकोशीमा आएको बाढीपछि प्रभावित नागरिकले चाडपर्वको समयमा महँगी र कृत्रिम अभावको थप मार खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।  

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सचेतक परियारले दशैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गर्दा विपत्तिका कारण सडक तथा पुलहरू क्षतिग्रस्त भएको अवस्थालाई व्यापारीले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने अवसर बनाउन सक्ने जोखिम औँल्याए।

उनले भोटेकोशीको विपत्ति प्राकृतिक प्रकोपमा मात्र सीमित नरहेको र यसको असर दीर्घकालसम्म देखिन सक्ने बताए। उद्धार तथा राहतमा राज्यको उपस्थिति प्रशंसनीय भए पनि प्रभावित क्षेत्रको भौगोलिक विच्छेद अझै कायम रहेकाले संकट पूर्ण रूपमा अन्त्य नभएको उनको भनाइ थियो।

परियारले विपत्तिको अवस्थालाई ध्यानमा राख्दै दुर्गम क्षेत्रसम्म अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आपत्कालीन आपूर्ति संयन्त्र निर्माण गर्न सरकारसँग माग गरे। साथै, बजारमा नियमित औपचारिक अनुगमन मात्र गरेर नपुग्ने भन्दै कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए।

उनले भत्किएका सडक तथा पुलको पुनर्निर्माणसँगै राज्य र नागरिकबीचको विश्वास कायम राख्न पनि सरकार गम्भीर बन्नुपर्ने बताए।

“सडक टुक्रिए पनि नागरिक र सरकारबीचको विश्वासको सेतु टुक्रिनु हुँदैन,” परियारले सदनमा भने।

प्रकाशित: ३० भाद्र २०८३ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App