राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी उपनिर्वाचनमा रुपन्देही-३ बाट आफ्नो उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचन (प्राइमरी) को अभ्यास अपनाउने भएको छ। राप्रपाको यस कदमलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वागत गर्दै स्याबास भनेको छ।
नेपालमा पहिलो पटक प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोटको अभ्यास थालेको रास्वपाले आफ्नो वाचापत्रमा उल्लेखित राम्रा कामको प्रशंसा गर्ने नीतिअनुसार राप्रपाको निर्णयलाई सकारात्मक भनेको हो।
मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रास्वपाले लेखेको छ, ‘हामीले वाचापत्र लेख्दै गर्दा एउटा कुरा प्रष्ट भनेका थियौं, हाम्रो यो वाचापत्रको सर्वाधिकार नेपाली जनतामा निहित रहनेछ। यस वाचापत्रका कुनै पनि अंश वा वाचाहरू कुनै पनि नेपाली दल वा सरकारद्वारा पुनरुत्पादन, कार्यान्वयन वा कपी गरेको पाइएमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सधन्यवाद स्याबास भनिने छ।’
रास्वपाले अगाडि भनेको छ, ‘स्याबास राष्ट्रिय प्रजातन्त्र पार्टी, उम्मेदवार छनोट गर्ने हेतु आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने दिशामा अघि बढेकोमा।’
राप्रपाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट छनोट गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकांक्षी उम्मेदवारहरूमध्येबाट प्रजातान्त्रिक ढंगले उम्मेदवार छनोट गर्न आन्तरिक प्रारम्भिक निर्वाचन गराइनेछ।’
उक्त निर्वाचनमा रुपन्देही-३ का विभिन्न तहका कार्यसमिति र भदौ १७ गतेसम्मका सक्रिय सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८२ १९:०३ मंगलबार





