राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले प्रधानमन्त्रीलाई भेटेर पाँच बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा राप्रपाले मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि तत्कालीन राजा, राजनीतिक दल, ‘जेनजी’लगायत पक्षधरबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ ।
राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री कार्कीलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्रीसँग भएको भेटमा राप्रपाले २०८४ मा हुने निर्वाचन २०८२ मा सार्नका लागि मात्र सरकार नबनेकोले आन्दोलनको जगलाई टेकेर राजनीतिक निकास निकाल्ने गरी काम गर्न आग्रह गरेको अध्यक्ष लिङदेनले बताए ।
राजनीतिक निकासका लागि तत्कालीन राजा, राजनीतिक दल, ‘जेनजी’लगायत पक्षधरबीच नवीन समझदारी आवश्यक भएकाले प्रधानमन्त्रीकै नेतृत्वमा यी समूहको सर्वदलीय बैठकको आह्वानका लागि पहल गर्न आग्रह गरेको पनि लिङदेनले बताए ।

प्रकाशित: १३ मंसिर २०८२ १९:५२ शनिबार





