१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राजासँग माफी माग्न दलका नेतालाई राप्रपा महामन्त्रीको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरद पाठकले देशमा द्वन्द्व नचाहने हो भने राजासँग माफी माग्न दलका नेतालाई सुझाव दिएका छन् ।  

सामाजिक सञ्जालमा उनले आफूलाई पर्दामात्र निषेधको राजनीति हुने भन्दै प्रश्न गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति विगतमा देखाइने व्यवहारको सम्झना गराउँदै हाल राजनीतिक दलहरू स्वयं त्यही किसिमको प्रतिबन्ध र दमनको चपेटामा परेपछि ‘झसङ्ग’ जागेको टिप्पणी गरेका छन्।

पाठकले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘नागार्जुनमा बसेर धेरै मन्दिर मन्दिर दर्शन गर्दै नहिँड पूर्वराजा, कारवाहीमा परौला। यही भन्दै आएको होइन तपाईँहरूले अस्तिसम्म ? राजा ज्ञानेन्द्रले सामान्य केही बोल्दैमा जिब्रो नै थुतौँला झैँ गरी मिडियासामू उत्ताउलिने तपाईँहरू सबै हैन ?’

उनले सत्ता र शक्तिका घमण्डमा पुराना राजनीतिक पात्रले पूर्वराजाप्रति देखाएको असहिष्णुता अहिले उनीहरू तर्फ नै फर्किएको टिप्पणी गरे । पाठकले लेखेका छन्, ‘अब बल्ल आफूलाई परेपछि निषेधको राजनीतिले झसङ्ग बनायो?’

उनले थप आक्रामक बन्दै लेखेका छन्, ‘यो सबैको मुख्य कारक हामी हौँ भनेर आत्मालोचित हुँदै सुरूवातमा उनैसँग माफी मागेर मेलमिलापको राजनीतिको गम्भीरतापूर्वक आह्वान गर्नुस्! नत्र त जसको जहाँ शक्ति पुग्छ, उसले उहीँ अरूलाई निषेध गर्ने डरलाग्दो र संवेदनशील युगमा देश प्रवेश गरिसकेको छ।’

पाठकले वर्तमान राजनीतिक द्वन्द्व, असहिष्णुता र प्रतिबन्धहरूको शृङ्खलाले मुलुकलाई खतरनाक मोडमा धकेलिरहेको चेतावनी दिएका छन्। तटस्थ आँखाले हेर्दा द्वन्द्वमात्र देखिएको भन्दै उनले लेखेका छन्, ‘अगाडि त द्वन्द्वमात्रै देखिन्छ तटस्थ आँखाले हेर्दा।’

उनको स्टाटसले मुलुकमा बढ्दो राजनीतिक कठोरता, निषेध र शक्ति प्रयोगको प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाउँदै मेलमिलाप र सहिष्णुताको राजनीतिको तात्कालिक आवश्यकता औँल्याएको विश्लेषण गरिएको छ ।  

 

प्रकाशित: ३ मंसिर २०८२ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App