४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

राप्रपासँग मतलब छैन, हाम्रो प्रतिस्पर्धी ‘घण्टी’ हो: धवल शम्शेर

जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ हुने दाबी गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले राप्रपाको आन्तरिक विवादलाई कटाक्ष गर्दै आफ्नो पार्टीको प्रतिस्पर्धा राप्रपासँग नरहेको बताए।

राप्रपाभित्रको पछिल्लो विवाद र सांसद निष्कासनप्रति व्यङ्ग्य गर्दै अध्यक्ष राणाले भने, ‘हामीलाई राप्रपाको मतलब नै छैन। लडिरहोस्, झगडिरहोस्, जे-जे गर्छ गरिरहुन्। यिनको पछि हामी जाने नै होइन। मोबाइल हेर्दा पनि हाँसो लाग्छ, भर्खरै माननीयहरूलाई निकाल्दै छन्, यिनीहरूको झगडा अझै सकिएको छैन।’

आगामी स्थानीय तहको निर्वाचन नै पार्टीको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै उनले अबको डेढ महिनाभित्र सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई आ-आफ्नो गृहजिल्ला खटाइने जानकारी दिए।

संगठन विस्तारका लागि आफू स्वयं पनि जिल्ला जाने बताउँदै उनले स्थानीय निकायमा राम्रो नतिजा ल्याउन नसके पार्टीलाई आगामी दिनमा कठिन हुने चेतावनी दिए।

‘जिल्लामा गएर राप्रपाकै पुराना मान्छे खोज्नुपर्दैन,’ अध्यक्ष राणाले भने, ‘जनताले पत्याएको, उत्कृष्ट र जिल्ला हाँक्न सक्ने नयाँ नेतृत्वलाई पूर्ण अधिकार दिएर हामी पठाउँछौं।’

विशेषगरी राजधानी काठमाडौंमा पार्टीको विचारप्रति धेरैको आकर्षण रहेको दाबी गर्दै उनले यहाँका नेताहरूलाई विशेष ध्यान दिएर मजबुत संगठन निर्माणमा लाग्न निर्देशन दिए।

प्रकाशित: ४ भाद्र २०८३ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App