१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राप्रपा उम्मेदवार खड्काले भने : सांसद भए तलबभत्ता र सेवासुविधा लिन्नँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्तपुर क्षेत्र नं १ का उम्मेदवार भरतबहादुर खड्काले आफू विजयी भए सांसद भएबापत पाइने तलबभत्ता र सेवासुविधा नलिने सार्वजनिक घोषणा गरेका छन्।

स्वतन्त्र पत्रकार संघ भक्तपुरले सोमबार गरेको साक्षात्कारमा उनले आफूले पाउने सबै सेवासुविधा निमुखा जनतालाई वितरण गर्ने प्रतिबद्धता बताए। 'म जनताको सेवाका लागि उम्मेदवार भएका हुँ,' उनले भने, 'त्यसकारण जनताकै सेवामा लाग्छु।' आफू विजयी भए आफ्नो क्षेत्रका सडक, खानेपानी सबै व्यवस्थित पार्ने प्रतिबद्धता उनले जनाए।

उनले आफ्नो क्षेत्रमा कांग्रेस, एमाले, माओवादी कसैको पनि जनमत नभएको दाबी गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भविष्यमा देश कसरी बेच्दैछ भन्ने बारेमा पनि आफूले जनतालाई बुझाउँदै आएको उनको भनाइ छ। उनले त्यसकारण जनमत आफूतिर रहेको दाबी पनि गरे।

भक्तपुर क्षेत्र नं १ मा राप्रपाबाट खड्का, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रेम सुवाल, नेपाली कांग्रेसबाट किरण न्यौपाने, एमालेबाट सोम मिश्र, नेपाल कम्युनिष्ट पार्टीबाट हरिराम लवजू, रास्वपाबाट रुकेश रञ्जित मैदानमा छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलहरू र स्वतन्त्र गरी कुल २५ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।

पछिल्लो २०७९ सालको संसदीय निर्वाचनमा यस क्षेत्रमा नेमकिपाका प्रेम सुवाल ४२ हजार सात सय ६१ मतका साथ विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत पाएका थिए। तेश्रो स्थानमा राप्रपाका खड्काले नै नौ हजार दुई सय २२ मत पाएका थिए। तत्कालीन माओवादी र कांग्रेसको गठबन्धनका साझा उम्मेदवार माओवादीका सुनिल गोठेले पाँच हजार मत पाएका थिए।

यो निर्वाचन क्षेत्रमा भक्तपुर र चाँगुनारायण दुई वटा नगरपालिका क्षेत्रहरू पर्दछन्। भक्तपुर क्षेत्र नं १ मा एक लाख बढी मतदाताहरू छन्।

प्रकाशित: २६ माघ २०८२ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App