१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रेशमको नयाँ पार्टी ‘नाउपाने’, चुनाव चिह्न ‘जाँतो’

आफैँ संरक्षक रहेको र श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको लामो विवादपछि रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

चौधरीले बिहीबार ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नाममा नयाँ दल दर्ताका लागि ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित निवेदन दिएका हुन्।

प्रस्तावित पार्टीको चुनाव चिह्न ‘जाँतो’ राखिएको छ। रोचक कुरा, चौधरीले पार्टीको अध्यक्षमा २८ वर्षीय कबीर सोबलाई अघि सारेका छन्। उनी रेशमका भन्जा भएको बताइएको छ।

यसका साथै हालै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ। महासचिवको जिम्मेवारी उमाशंकर चौधरीलाई दिइएको छ।

रेशम चौधरी जेलमा रहँदा नै उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। पार्टीले २०७९ को चुनावमा राम्रो नतिजा पनि ल्यायो। जेलबाट छुटेपछि चौधरीले पार्टीको महाधिवेशन गराए, जसले उनलाई अध्यक्षमा चुन्यो। तर, टीकापुर घटनाका कारण निर्वाचन आयोगले उनको अध्यक्षतालाई मान्यता दिएन।

त्यसपछि रञ्जिता नै अध्यक्ष कायम रहिन् र मन्त्रीसमेत बनिन्। तर, पार्टी सञ्चालनको विषयलाई लिएर दुई जनाबीच गहिरो मतभेद सुरु भयो। रञ्जिताले पार्टीका २१ जना संस्थापक सदस्यलाई मात्र आधार मानेर पार्टी चलाउन खोजेकी थिइन् भने रेशमले महाधिवेशनबाट चुनिएका प्रतिनिधिहरूलाई पनि समेट्नुपर्ने अडान लिएका थिए।

विवाद चर्किएपछि चौधरी पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाए पनि निर्वाचन आयोगले त्यसलाई मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष कायम गरेपछि रेशमले पार्टीबाट अलग हुने घोषणा गरेका थिए।

प्रकाशित: १३ कार्तिक २०८२ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App