नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसेका प्रतिनिधिहरूले आफूहरू खानासमेत नखाएर लाइनमा उभिएको बताएका छन्।
तर, पटक–पटक मतदानको समय सर्दा उनीहरू अन्योल र हैरानीमा परेका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित मतदान स्थलमा साँझदेखि नै प्रतिनिधिहरूको लामो लाइन छ।
नागरिक न्युजसँग कुरा गर्दै एक प्रतिनिधिले भनिन्, ‘उत्साहित त एकदमै थियौँ। खाना खान छोडेर भोट हाल्न लाइनमा बस्यौँ। खाना पनि चाहिएन, भोट हाल्न पाए मात्रै पुग्छ भन्ने भयो।’
तर, निर्वाचन आयोगले पटक–पटक समय सार्दा प्रतिनिधिहरूले सास्ती खेप्नु परेको छ। ‘पाँच बजे भनेको अहिले नौ बज्न लागिसक्यो। पाँच बजे भइदिएको भए घर पुगिसकिन्थ्यो। चिसो भइसक्यो, लाइनमा उभिनु परेको छ,’ लाइनमा बसेका अर्का प्रतिनिधिले गुनासो पोखे।
प्रतिनिधिहरू अहिले पनि लाइनमा उभिरहेका छन्।
निर्वाचन आयोगले प्राविधिक कारण देखाउँदै सुरुमा २ बजे त्यसपछि ७ बजे र पछिल्लो पटक ८ बजे मतदान सुरु हुने बताएको छ। यद्यपि, मतदान सुरु हुने समय अझै यकिन नभए पनि प्रतिनिधिहरू भने चिसोको पर्वाह नगरी लाइनमा डटिरहेका छन्।
प्रकाशित: १ पुस २०८२ १९:२३ मंगलबार





