३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

बाढी पीडितलाई सम्झिँदै राष्ट्रपति पौडेलले भने- संविधान नागरिकको सेवक बन्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्।

संविधान दिवसको अवसरमा बिहीबार शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका छन्।

लोकतन्त्रमा नागरिकको सर्वोच्चता नै सर्वोपरि हुने भन्दै उनले संविधानले कल्पना गरेको न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणमा सबै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए।

मुलुकले संविधान दिवस मनाइरहँदा हालै आएको बाढीपहिरो र विपद्ले पुर्‍याएको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरे। ‘यस वर्ष हामीले संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा छ,’ उनले भने, ‘कयौं नेपालीले प्रियजन र घरजीवनको सहारा गुमाउनुभएको छ। म यस दुःखद घडीमा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानलाई जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलको रूपमा स्मरण गरे। उनले भने, ‘नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला हो।’

उनले संविधानले जनतालाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान दिएको उल्लेख गर्दै प्रदेशहरूको स्थापना, एकात्मक शासन प्रणालीको अन्त्य र बहुलवादमा आधारित समावेशी नेपालको निर्माणलाई प्रमुख उपलब्धिका रूपमा चर्चा गरे।

यद्यपि, संविधानमा लेखिएका कुराहरूलाई व्यवहारमा उतार्न अझै चुनौती रहेको उनले औंल्याए। ‘संविधानले नागरिकका आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा गरेको छ, तर यसलाई व्यवहारमा अनुवाद गर्न नसके लोकतन्त्र बलियो हुँदैन,’ उनले भने, ‘संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक, अधिकार र समृद्धि सुनिश्चित गर्न नसकेसम्म यो सम्भव छैन।’

प्रकाशित: ३ आश्विन २०८३ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App