प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक राज सिग्देलबिच भेटवार्ता भएको छ।
मंगलबार बिहान भएको भेटवार्तापछि सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो नियमित भेटघाट भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीसँग रक्षा मन्त्रालयको पनि जिम्मेवारी भएका कारण यस्तो भेट भइरहन्छ। तर भेटका एजेन्डाबारे भने केही खुलाएनन्। नागरिकसँग उनले भने, ‘यो भेटघाट चाहिँ कस्तो हुन्छ भने अब प्रधानसेनापतिज्यूको र प्रधानमन्त्री एवम् रक्षामन्त्रीज्यूको नियमित भेटघाटहरू भइराखेको हुन्छ।’
त्यस्तै, गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको आदेशमा डोजर चलाइएको विषयमा पनि सेनाले प्रतिक्रिया दिएको छ। सांसद पाण्डेले सेनाको संरक्षणमा रहेको उक्त क्षेत्रको पर्खाल डोजरले भत्काउन लगाएको घटनाबारे सैनिक प्रवक्ता बस्नेतले सम्बन्धित निकायसँग कुरा भइरहेको जानकारी दिए।
प्रधानमन्त्री र प्रधानसेनापतिबिच यसबारे कुरा भए नभएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले भने, ‘नियमित भेटघाट भइराखेको हुन्छ। त्यो विषय त मलाई जानकारी भएन।’ जंगी अड्डाले के गर्दैछ भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा चाहिँ हामीले सम्बन्धितहरूसँग समन्वय गरेका छौँ। यो विषयमा कुरा भइराखेको छ।’
सोमबार सांसद पाण्डे डोजर लिएर पुगेपछि त्यहाँका सैनिक अधिकारीले आवश्यक प्रक्रिया पूरा गरेर मात्र काम गर्न आग्रह गरेका थिए। तर पाण्डेले प्रधानमन्त्री शाहसँग छलफल गरी आदेश लिएर आएको भन्दै सेनासँग वादविवाद गरेको भिडियो अहिले भाइरल भइरहेको छ।
काठमाडौं क्षेत्र नम्बर ३ का सांसद पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की समेत गरेको भिडियोमा देख्न सकिन्छ।
प्रकाशित: १९ श्रावण २०८३ १६:१८ मंगलबार





