नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध एकताको अपिल गरेका छन्।
संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित गरेको संविधानलाई उनले नेपाली जनताले आफ्नो भविष्य रेखाको रूपमा चित्रण गरेका छन्।
ओलीले संविधान जारी हुँदाको नाकाबन्दी र सार्वभौमसत्तामाथिका चुनौतीलाई परास्त गरेको स्मरण गर्दै नेपाललाई भूजडित बनाउन उत्तर-दक्षिण यातायात संरचना र उत्तरी छिमेकीसँग पारवहन सम्झौता गरिएको उल्लेख गरे। उनले देशको अर्थतन्त्र बलियो हुँदै गएको र विकासका जग बसालिएको दाबी गरे।
उनले गत साता जेन-जी आन्दोलनका क्रममा भएको हिंसालाई षड्यन्त्रकारीहरूको घुसपैठको परिणाम भनेका छन्। जेन-जी आन्दोलनमा युवाहरूको ज्यान गएकोमा गहिरो दुख व्यक्त गर्दै प्रहरीले स्वचालित हतियार प्रयोग नगरेको र प्रदर्शनकारीलाई गोली हान्ने आदेश नदिएको दाबी समेत उनको छ। पूर्वप्रधानमन्त्री ओलीले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना व्यक्त गरे।
ओलीले हालैको अवस्थालाई संविधानमाथिको ठूलो आक्रमणको रूपमा चित्रण गर्दै सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र नेताकार्यकर्ताका घरहरूमा भएको तोडफोड र आगजनीलाई देशको निशानी मेटाउने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनले यी घटनापछाडिको षड्यन्त्रबारे समयले प्रष्ट पार्ने समेत बताए।
विदेश जाने/आउनेको भीडलाई नकारात्मक ठान्ने समाजले बाह्य अनुमतिमा प्रतिबन्धको अर्थ बुझ्ने र नयाँ पुस्ताले यथार्थ बुझ्ने विश्वास उनको छ। काजी भीम मल्लको ऐतिहासिक मृत्युदण्डको प्रसङ्ग उल्लेख गर्दै उनले असन्तोषको अतिशयोक्तिपूर्ण विस्तारले पछुतोमात्र निम्त्याउने चेतावनी दिएका छन्।
सार्वभौमसत्ता र संविधानको रक्षाका लागि सबै पुस्ताका नेपालीलाई एकजुट हुन आह्वान गर्दै ओलीले संविधानलाई स्वतन्त्रताको कवच र सार्वभौमसत्तालाई देशको अस्तित्वको रूपमा चित्रण गरे। संविधान जोगाउने र सार्वभौमसत्ताको रक्षा गर्ने अपिल गर्दै उनले देशलाई सङ्कटबाट जोगाउन एकताको आवश्यकता औंल्याए।
यस्तो छ ओलीको शुभकामना सन्देश
दिदीबहिनी तथा दाजुभाइहरू !
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्टित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।
हामी यति बेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानी छानी खरानी बनाइएको छ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।
तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।
हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपिल छ -
संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ।
प्रकाशित: ३ आश्विन २०८२ ०८:५८ शुक्रबार





