४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रविले भने- नयाँ शक्तिहरू सबै मिल्छन्, एकैठाउँमा आउँछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा उदाएका नयाँ राजनीतिक शक्तिहरू छिट्टै एकताबद्ध हुने उद्घोष गरेका छन्।

शनिबार काठमाडौं विमानस्थलमा ओर्लिएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले नयाँहरू सबै मिलेर एकैठाउँमा उभिने दाबी गरेका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ दलहरूबीचको सहकार्यबारे टिप्पणी गर्दै लामिछानेले भने, ‘आजलाई यति मात्र बुझ्नुस्, नयाँहरू सबै मिल्छन्, एकैठाउँमा आउँछन्।’

उनले यो एकता कसैलाई हराउनका लागि नभई देशलाई जिताउनका लागि हुने स्पष्ट पारे। ‘त्यो सपना पूरा गर्नको निमित्त सबै मिल्न तयार छ,’ लामिछानेले भने, ‘यीनलाई (पुराना दललाई) हराउन मिल्नु पर्दैन, देशलाई जिताउनका लागि मिल्ने हो।’

सभापति लामिछानेले आफूहरूको एकता र सहकार्य केवल आगामी चुनाव जित्नका लागि मात्र नहुने बताए। उनले भने, ‘एउटा–दुईटा चुनावको कुरा छैन साथी हो, यहाँ सिंगो पुस्ताको कुरा छ। गिरेको आत्मविश्वासलाई उचो बनाउनको लागि र देशलाई नयाँ बाटोमा लिएर जानका लागि मिल्ने हो।’

३५ वर्षदेखि खरानी भएको जनताको सपनालाई पूरा गर्न नयाँ शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नरहेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा लामिछानेले पुराना र अपदस्थ भएका दलका नेताहरूलाई गाली गरेर समय खेर नफाल्ने बताए। उनले भने, ‘म अपदस्थ भएका मानिसहरूलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा छैन। बरु उनीहरूलाई इतिहासको एउटा कुनामा कसरी संरक्षित, सुरक्षित र सम्मानित राख्ने हो, त्यस बारेमा सोचिरहेको छु।’

यद्यपि, उनीहरू सम्मानित ठाउँमा बस्ने कि नबस्ने भन्ने कुरा उनीहरूकै अभिव्यक्ति र व्यवहारमा भर पर्ने लामिछानेले चेतावनी दिए।

प्रकाशित: ५ पुस २०८२ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App