३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, अर्को सुनुवाइ बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा जारी सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा जारी यस रिटमाथिको सुनुवाइ अब बिहीबार टुंगिनेछ।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीको मात्र मुद्दा कायम राख्न स्वीकृति दिएकी थिइन्।

आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्ने लामिछानेको निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ लाई टेक्दै महान्यायाधिवक्ताले उक्त निर्णय गरेकी थिइन्।

सोही निर्णयका आधारमा पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिलले अभियोग संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए।

तर, महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि कास्की र रूपन्देही जिल्ला अदालतले तत्काल यस संशोधन निवेदनमा कुनै निर्णय नगर्ने आदेश गरिसकेका छन्।

महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चमा तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएका छन्।

प्रकाशित: ३ चैत्र २०८२ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App