राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको कुरा ‘स्वाद’ अनुसारका हल्ला भएको बताएका छन्।
सोमबार राति भएको भेटघाटपछि मंगलबार सञ्चारकर्मीले राखेको ‘तपाईंहरूबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भएको हो ?’ भन्ने प्रश्नमा लामिछानेले उक्त दाबी अस्वीकार गर्दै अहिले नै राजनीतिक पद बाँडफाँटको चरणमा नपुगेको स्पष्ट पारेका हुन्।
सभापति लामिछानेले दुई नेताबीचको भेटलाई लिएर बाहिर आएका अड्कलबाजीहरूमा सत्यता नरहेको संकेत गरे। उनले भने, ‘हामी त्यो (प्रधानमन्त्री वा पदको) चरणमा प्रवेश गरेका छैनौं। हामी दुईजना मात्र बसेको वार्तामा आफूलाई जे ‘स्वाद’ लाग्छ, त्यही-त्यही भन्दिन त भएन नि !’
लामिछानेले अहिलेको भेटघाट विशुद्ध रूपमा एकअर्काको विचार बुझ्ने र परिस्थितिबारे जानकारी लिने प्रारम्भिक चरणमा रहेको बताए।
‘पहिला त थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो, के कस्तो छ, कहाँ छ भन्ने बुझ्नुपर्यो,’ उनले थपे, ‘तपाईंहरूले हतार नगर्नुस् न, हामी बिस्तारै राजनीतिक चरणमा पनि प्रवेश गर्छौं।’
परिवर्तनका पक्षधर नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा भने आफूहरू सकारात्मक रहेको लामिछानेको भनाइ छ।
उनले रास्वपाले पहिलेदेखि नै सबै वैकल्पिक शक्तिलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयास गरिरहेको र बालेनसँगको भेट त्यसैको निरन्तरता भएको बताए।
लामिछानेले भने, ‘सुदन गुरुङजीसँग कुराकानी भएको छ, समय मिलेमा कुलमानजीसँग पनि कुरा गर्छौं। हामी सबै पक्षसँग कुरा गरेर एक ठाउँमा आउन प्रयास गर्छौं, तर दुई जना भेट्दैमा सबै कुरा मिल्यो भनेर हल्ला गर्नु हतारो हुन्छ।’
सोमबार साँझ काठमाडौंको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा रवि र बालेनबीच भेटवार्ता भएको थियो।
भेटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल र बालेनका सल्लाहकार कुमार बेन पनि सहभागी थिए। करिब ६ घण्टा चलेको छलफल राति १ बजे सकिएको थियो।
प्रकाशित: ८ पुस २०८२ १५:३९ मंगलबार





