राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा सर्वस्व गुमाएका नागरिकमाथि सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा तुच्छ टिप्पणी र कटाक्ष नगर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले विपद्का कारण आफन्त, घरबार र सम्पत्ति गुमाएका नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहारका रूपमा नभई राज्यसँग गरिएको गुहारका रूपमा बुझ्नुपर्ने बताए।
‘यो महाविपत्तिको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक–चौतारोमा तुच्छ टीका–टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिले बन्द गरौँ,’ उनले भने।
लामिछानेले विपद्का बेला ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै त्यसको जवाफ आरोप–प्रत्यारोपबाट नभई राज्यको उपस्थितिलाई प्रत्यक्ष रूपमा देखाएर दिनुपर्ने बताए।
‘राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको राज्य कहाँ छ भनेर दृश्यसहित स्पष्ट पार्नु हो,’ उनले भने।
उनका अनुसार अहिले राज्य भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको जीवन खोजिरहेको छ। विस्थापित नागरिकलाई आश्रय र आधार उपलब्ध गराउने तथा बाढीले भत्काएका सडक र पुल पुनर्निर्माणसँगै नागरिकको टुटेको भरोसा जोड्ने काममा राज्य केन्द्रित हुनुपर्ने उनले बताए।
लामिछानेले सुरुङभित्र फसेका नागरिकको उद्धारमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर गरेको प्रयासको प्रशंसा गरे।
‘सुरुङभित्र आफ्ना नागरिकलाई बचाउन उनीहरू जसरी आफ्नो ज्यान हत्केलामा राखेर हुमिनुभएको छ, त्यो अदम्य साहस देखेर आज सिंगो देश नतमस्तक भएको छ,’ उनले भने।
उनले उद्धारमा खटिएका पाइलट, चालक दलका सदस्य, हवाईकर्मी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे। विपद्का बेला निजी क्षेत्र, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था र आम नागरिकले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे।
लामिछानेले विपद्पछि राहत र उद्धारसँगै दीर्घकालीन पुनर्निर्माण तथा भविष्यमा यस्ता विपद् दोहोरिन नदिन बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका बनाउनुपर्नेमा जोड दिए।
उनले पीडित नागरिकमाथि अमानवीय व्यवहार भएको पाइए राज्यले कडा कदम चाल्नुपर्ने बताए। विज्ञप्ति जारी गरेर मात्र नभई पीडितको पक्षमा राज्य उभिएको अनुभूति नागरिकले गर्ने गरी काम गर्न सरकारसँग उनको आग्रह थियो।‘
राज्य साँच्चिकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउनुपर्छ,’ लामिछानेले भने।
प्रकाशित: २४ भाद्र २०८३ १४:४९ बुधबार


-600x400.jpg)

-600x400.jpg)