राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको हिसाबकिताबमा अल्झिनुभन्दा आगामी ३५ वर्षका लागि स्पष्ट योजना बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्याउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।
उनले विगतमा भएका कामको आलोचना गरिरहनुभन्दा अब देशका लागि के गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए। नागरिकले रास्वपामाथि विश्वास गरेको भन्दै उनले उक्त विश्वासलाई कमजोर हुन नदिन नेता–कार्यकर्तालाई सचेत गराए।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि नगर्न पनि निर्देशन दिएका छन्। आफ्ना अभिव्यक्ति र गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने अवस्था आउन नदिन उनले आग्रह गरे।
उनले अहिले सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो हुनुपर्नेमा जोड दिँदै पार्टीभित्र जिम्मेवार र संयमित व्यवहार आवश्यक रहेको बताए।
प्रकाशित: ७ भाद्र २०८३ १८:१० आइतबार





