राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी स्थापना गर्दाका कठिन दिनहरू सम्झँदै भावुक बनेका छन्। केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक कागजात जुटाउँदाको संघर्ष र त्यसबेलाको दबाब स्मरण गरे।
उनले भने, “अहिले महामन्त्रीजीले कुरा राखिरहँदा निकै भावुक हुने परिस्थिति बन्यो। मलाई पनि त्यसले भावुक बनायो। पार्टी स्थापना गर्दा निर्वाचन आयोगमा बुझाउन जाँदा २१–२२ वटा नागरिकता जुटाउनुपरेको सकस अझै सम्झिरहेको छु। त्यसमा पनि समावेशीताको मापदण्ड पूरा गर्नुपर्दाको चाप अहिले पनि स्मृतिमा ताजै छ।”
लामिछानेले रास्वपा आजको अवस्थामा पुग्नु कुनै एक व्यक्तिको उपलब्धि नभएको स्पष्ट पारे। पार्टी निर्माणदेखि विस्तारसम्म नेता, कार्यकर्ता र समर्थकहरूको साझा योगदान रहेको उनको भनाइ थियो।
चार वर्षको राजनीतिक यात्रामा पार्टीले अनेक उतारचढाव पार गर्दै आएको उल्लेख गर्दै उनले अहिले रास्वपा नागरिकको सार्वजनिक परीक्षणको चरणमा रहेको बताए। आगामी महाधिवेशनलाई पार्टीलाई अझ व्यवस्थित, संस्थागत र वैज्ञानिक ढंगले अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा उनले चित्रण गरे।
सम्बोधनका क्रममा लामिछानेले आफ्नो कार्यकक्षसँग जोडिएका राजनीतिक स्मृतिहरू पनि साझा गरे। उनले भने, “यो कार्यकालको केन्द्रीय समितिको अन्तिम बैठक हो। सचिवालयको अन्तिम बैठक पनि हिजो यही कार्यकक्षबाट सम्पन्न गर्यौँ। त्यही ठाउँबाट मैले साथीहरूलाई धन्यवाद दिएको थिएँ। यही कोठाभित्र पार्टीका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजमा हस्ताक्षर भएका छन्। यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडीसहित प्रहरी प्रवेश गरेका थिए। त्यसैले यो बैठक विशेष र ऐतिहासिक महत्व बोकेको छ।”
उनले रास्वपा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा परिवर्तनका लागि भएका संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको आधारमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीको आगामी यात्रा थप जिम्मेवार, संगठित र परिणाममुखी बन्नुपर्नेमा जोड दिए।
प्रकाशित: ६ असार २०८३ १६:०० शनिबार





