जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामै पठाउन आदेश दिएको छ। जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार यस्तो आदेश गरेको हो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागमा लगाइएको बिगोबराबरको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुनाबाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका थिए। गत साउन १९ गते अदालतमा निवेदन दिँदै उनले आफू सहकारी ठगीमा संलग्न नभएको तर बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहयोग गर्न तयार रहेको जिकिर गरेका थिए।
यसअघि जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तर सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि उनी निरन्तर थुनामा छन्।
लामिछानेले आफूविरुद्धको अभियोग राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्।
इजलासमा रविले के भने ?
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मिति २०८१ चैत २२ मा गरेको आदेशमा मेरो चित्त नबुझी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ नम्बरबमोजिम दायर गरेको निवेदनउपर सुनुवाइ हुँदा सर्वोच्च अदालतबाट पनि आदेश सदर भई आएको र प्रस्तुत मुद्दामा धेरै प्रतिवादी रहेकामा धेरैजसो अझै फरार रहेका कारण यस अंदालतबाट उक्त मुद्दामा फैसला हुन लामो समय लाग्ने अवस्था विद्यमान छ।
अदालतको आदेशलाई शिरोपर गरी म रूपन्देही जिल्ला कारागारमा आएँ तर अन्य चार जिल्ला र तीन उच्च अदालतमा पनि मविरुद्ध यस्तै प्रकृतिका झुटा मुद्दा चलिरहेको हुनाले र मेरा अधिकांश कानुन व्यवसायी काठमाडौंमा रहनुहुने भएकाले काठमाडौंमै पनि मविरुद्ध झुटा मुद्दा चलिरहेको हुनाले मैले काठमाडौं डिल्लीबजार कारागार सरुवा गरी पाऊँ भनी कारागार कार्यालय रूपन्देहीमा निवेदन दिएको थिएँ। एउटा कैदीबन्दीकै रूपमा त्यो मेरो अधिकार पनि हो।
कारागार कार्यालय रूपन्देहीले स्थान अभाव देखाउँदै मेरो कारागार स्थानान्तरणका लागि सम्मानित रूपन्देही जिल्ला अदालतमा निवेदनसमेत दायर गरी सो निवेदनउपर स्थानान्तरणका लागि अदालतको आदेश पनि थियो। सम्मानित अदालतको आदेशलाई मन्त्रालयको एउटा विभागले सजिलै लत्याएर अदालतको समेत मानमर्दन गर्यो। महिनौं लामो तथाकथित अनुसन्धान र त्यसपछिको जेलजीवनमा पनि म रवि लामिछानेले कहिल्यै कुनै अतिरिक्त सुविधा माग गरेको छैन।
ब्लड प्रेसर बढेर १८० पुग्दा पनि मैले अस्पतालको शय्या खोजी गरिनँ। म राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु, लुक्न चाहन्नँ। राज्य मप्रति कति प्रतिशोधी छ भन्ने बुझ्न ममाथि लगाइएका झुटा मुद्दाहरू नै सबैभन्दा ठुला प्रमाण हुन्। मलाई राजनीतिक रूपमा सिध्याउन रचिएका षड्यन्त्रहरूविरुद्ध त म राजनीतिक रूपमै लडुँला तर मध्यरातमा चितवनबाट पोखरा लैजाँदादेखि अहिले भैरहवा कारागारमा मलाई राखिएको कोठासम्मका घटनाक्रमले म यो निष्कर्षमा पुगेको छु कि राज्य मलाई केवल राजनीतिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि गलाउने, सडाउने र सिध्याउने प्रयत्नमा छ।
नेपालमा अहिले हजारौं कैदीबन्दी होलान् तर सबैभन्दा सानो जेलको कोठरीमा बसेको बन्दी म नै हुँ। अहिले मलाई राखिएको रूपन्देही जिल्ला कारागारको ब्लक नम्बर ४ जम्मा ३५ बाइ १२ फुटको छ। झ्यालहरूमा काठ ठोकिएको छ। हावा कतैबाट पास हुने ठाउँ छैन। चौबिसै घण्टा बत्ती नबाली पर्याप्त उज्यालो छिर्दैन। छत चिसिन कम्तीमा रातको ११/१२ बज्नुपर्छ। शरीरमा लुगा लगाएर यो बन्दकोठामा कोही ३० मिनेट टिक्न सक्दैनन्। यो जेल होइन, अर्को रूपको गोलघर हो।
सरकार मलाई जानीबुझी यहीँ सडाउन चाहिरहेको छ, ताकि मलाई मानसिक र शारीरिक रूपमा समाप्त पार्न सकियोस्। मलाई खाली नेल ठोकिएको छैन तर ४२ डिग्री तापक्रममा यो कालकोठरी, मध्ययुगको यातनागृहभन्दा पनि बढी पीडादायी छ। अरू कैदीबन्दी सुत्न मात्र कोठाभित्र जान्छन् तर मेरा लागि यही कोठा नै सिंगो जेल हो। सायद सरकार यो पनि चाहन्छ कि म यो कोठाभित्रको पीडाबाट मुक्तिका लागि प्रशासन गुहारूँ, ताकि मलाई अन्य पेसेवर अपराधी र कैदीहरूसमेत राखिएको यही कारागारको अर्को ब्लकमा सारी मेरो जीवन थप जोखिममा पार्न सकियोस्।
कारागारभित्रको मेरो कोठामा भएको एउटा पंखा केवल पंखा होइन, भगवान्को साक्षात् रूप हो तर बत्ती जाँदा यस कोठामा बत्ती मात्र जाँदैन, लगभग मेरो प्राण गएजस्तो हुन्छ। यस क्षेत्रमा दैनिक कति घण्टा बत्ती जान्छ भन्ने कुरा बिजुली अड्डाबाट डाटा सजिलै मगाउन सकिन्छ। म बसेको यो अवस्थाबारे थाहा नपाउने हरकोहीले भन्न सक्छ– अरू कैदीबन्दीलाई गर्मी नहुने तँलाई मात्र हुने? म दोहोर्याउन चाहन्छु, अरू कैदीबन्दीहरू सुत्ने बेलामा मात्र कोठामा गए पुग्छ। मेरा लागि यही कोठा नै सिंगो जेल हो।
म यस्तो यातनामा छु, जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन। तैपनि म लड्न तयार छु तर प्राण नै नरहे म कसरी लडुँला? मैले चित्रण गरेको मेरो अवस्थाका लागि म कुनै मानवअधिकारवादी संस्थालाई गुहार्न चाहन्नँ। यो देशका धेरै संस्थाजस्तै मानवअधिकारवादी संस्थासमेतले आफ्नो सान्दर्भिकता र नागरिक विश्वाससमेत गुमाउँदै गइरहेका छन्। त्यसैले मानवअधिकार आयोगलगायतका संस्थासमेत प्रति मेरो विश्वास टुटिसकेको छ। तर न्यायालयप्रति मेरो विश्वास अझै दृढ छ। यही विश्वासका आधारमा म आफ्नो जीवन र अधिकारको रक्षा र आफूमाथिको
षड्यन्त्रविरुद्ध लडिरहने निवेदन गर्छु।
प्रकाशित: २७ श्रावण २०८२ ०७:२६ मंगलबार





