राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल-भारत खुला सीमाको व्यवस्थापनका लागि पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ले सार्वजनिक गरेको अभिव्यक्ति र त्यसपछि घटेका घटनाक्रमबारे प्रश्न उठाएकी हुन्।
उनले भनिन्, 'आईजीपीसाबले हाम्रो देशमा रोहिंग्या तथा पाकिस्तानी मुस्लिम घुसपैठको चुनौती छ भन्नुभएको समाचार सार्वजनिक भएलगत्तै सुनसरी जिल्लामा हिन्दू र मुस्लिम समुदाय बीच झडप हुनुले आज गम्भीर प्रश्न खडा गरेको छ।'
सांसद तामाङले प्रहरी नेतृत्वले सुरक्षासम्बन्धी गम्भीर र आन्तरिक सूचना सार्वजनिक गर्दा त्यसको असरबारे सोच्नुपर्ने बताइन्। 'आईजीपीले सीमा र आन्तरिक सुरक्षाको जानकारी सार्वजनिक गरेर नेपाली समाजमा डर र आक्रोश पैदा गर्ने हो कि आन्तरिक रणनीतिले सुरक्षा प्रदान गर्ने हो?' भन्दै उनले प्रश्न गरिन्।
देशको सीमा सुरक्षामा अब ठोस कदम चाल्नुपर्ने भन्दै उनले भनिन्, 'अब खुला सिमाना के गर्ने हो भनेर सोच्ने बेला आइसकेको छ। नेपालको सीमा क्षेत्रहरू सुरक्षित बनाउन पर्खाल भए पर्खाल, नभए काँडेतार भए पनि काँडेतार लगाएर सुरक्षा निकायहरूको तत्काल परिचालन हुन म जोडदार माग गर्दछु।'
सम्बोधनका क्रममा उनले सुनसरी झडपमा परी ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरिन्।
प्रकाशित: १४ श्रावण २०८३ १३:०९ बिहीबार





