राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको बन्द सूचीमा समावेश ११० जनामध्ये १२ जनाले विभिन्न कारण देखाउँदै नाम फिर्ता लिने निर्णय गरेका छन्।
पार्टीका सहमहामन्त्री बिपिन कुमार आचार्यका अनुसार मिलन लिम्बु, धर्मलाल तामाङ, त्रिशला गुरुङ, सचिन ढकाल, मोहना अन्सारी, आशिफ शाह, महेन्द्र लावती, टासी लाक्पा शेर्पा, अरनिको कुमार पाँडे, गोविन्द नारायण, सिर्जना वली र साजन बिकले नाम फिर्ता लिएका हुन्।
उनले बन्द सूची निर्वाचन आयोगमा बुझाउँदा पार्टीभित्र रहेका विभिन्न समूह र नयाँ जोडिएका नेताहरूबीच समायोजनको प्रक्रिया हुँदा बन्द सूची तयार गर्दा विवाद सिर्जना भएको तर्क गरेका छन्। आचार्यका अनुसार आयोगमा बन्द सूची बुझाउँदा रास्वपाले करिब चार सय आकांक्षीमध्येबाट प्रक्रिया पूरा गरेर ११० जनाको अन्तिम सूची तयार पारेको थियो।
‘पार्टी समायोजनको क्रममा आन्तरिक प्रक्रियाबाट आएका साथीहरूलाई पनि स्थान दिनुपर्ने बाध्यता थियो। यही कारण केही साथीहरूले पार्टीको हितलाई ध्यानमा राख्दै स्वेच्छाले ब्याकआउट गरे।’ सहमहामन्त्री आचार्यले नागरिकसँग भने।
बन्दसूचीबाट नाम निकाल्ने निर्णय सामूहिक छलफल र सहमतिमै भएको जिकिर उनको छ।
केही उम्मेदवारले नाम फिर्ता लिएसँगै निर्वाचन आयोगमा पुनः बन्द सूची बुझाउने तयारी रहेको आचार्यले जानकारी दिए। ‘निर्वाचन आयोगले दलहरूलाई फरक–फरक समयसीमा दिएको छ। रास्वपाको हकमा तोकिएको समयभित्र बन्द सूची अद्यावधिक गरिसक्छौं’ उनले थपे।
प्रकाशित: २३ पुस २०८२ १४:२६ बुधबार





