नवनिर्वाचित सासद सुदन गुरुङले बलात्कारका घटनामा संलग्न अपराधीलाई कडा सजाय दिनुपर्ने बताएका छन्। गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित उनले सञ्चारमाध्यमसँग कुरा गर्दै पछिल्लो समय देशमा बलात्कारका घटना बढिरहेको भन्दै कडा कानुनको आवश्यकता रहेको बताएका हुन्।
उनले व्यक्तिगत धारणा राख्दै बलात्कारीलाई मृत्युदण्ड (क्यापिटल पनिसमेन्ट) दिनुपर्ने बताएका छन्। ‘व्यक्तिगत रूपमा बलात्कारीलाई फाँसी दिनु राम्रो हुन्छ, क्यापिटल पनिसमेन्ट चाहिन्छ, नभए मानिसमा डर हुँदैन, देशमा शान्तीपुर्ण रुपमा आवाज निकाल्दा गोली हानेर मार्ने रहेछ भनेपछि बलात्कारीलाई मार्ने पनि कुनै न कुनै कानुन ल्याउनु पर्छ होला नी ।’ उनले भने।
उनले बलात्कारी र भ्रष्टाचारीलाई कडा सजाय दिने कानुन किन नबनेको भन्ने प्रश्न समेत उठाएका छन्। अपराध गरेका व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुपर्ने भन्दै उनले अपराध गर्नेलाई सजाय दिन नसके अपराध गर्न थप हौसला पुग्ने समेत बताएका छन् ।
उनले भने, ‘हामीले आवाज उठाउँदा हामीलाई गोली हानीएको छ , संविधानमा टेकेर गोली हानेको छ भने त्यही बलात्कारीहरु खुलेआम हिडेका छन् , त्यसैले अब त्यही संविधान सच्याएर बलात्कारी र भ्रष्टचारीलाई गोली हान्ने किन बनेन ? ’ उनले प्रश्न गरेका छन् ।
महिला हिंसा न्यूनीकरणका लागि कडा नीतिनियम नहुँदा यस्ता घटना बढ्दै गएको भन्दै उनले विगतका घटनाहरू र विद्यमान कानुनको अध्ययन गर्दै आगामी सरकारले यस विषयमा काम गर्ने बताएका छन् ।
प्रकाशित: ५ चैत्र २०८२ ११:४५ बिहीबार





