नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संस्थापक एवं संरक्षक रेसम चौधरीले अन्ततः बिहीबार पुरानो पार्टीसँगको यात्रालाई सम्बन्ध विच्छेद गरेका छन्। रेसमको अगुवाइमा नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता प्रयोजनका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै रेसमले पुरानो पार्टीसँगको सम्बन्धमा पूर्णविराम लगाएका छन्।
पछिल्ला केही समययता नाउपाकी अध्यक्ष समेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँग रेसमको राजनीतिक द्वन्द्व उत्कर्षमा थियो। विशेषगरी सत्ता राजनीतिका कारण दुई जनाबिच कुरा मिल्न नसकेको पार्टीनिकट स्रोत बताउँछ।
पछिल्लो समय रेसम रञ्जितासँग आजित बन्दै पनि गएका थिए। यसैबिचमा पछिल्ला केही दिन यता उनी नयाँ दल खोल्ने निष्कर्षमा पुगेका थिए। जेन–जी आन्दोलनपछि उनले जेन–जी पुस्ताकै सेन्टिमेन्ट पनि बटुल्नेगरी जेन–जी पुस्ताकै कवीर सोबलाई अध्यक्ष बनाएर पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
यता रेसम नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा पुगाएकै बेला बुधबार राति नै रञ्जिताले फेसबुकमा रेसमको तस्बिरहरू राखेर भावुक स्टाटस राखेकी थिइन्।
जसमा उनले भनेकी छन्–मुटु, यो फोटो ठीक छ भन्ने आवाज आज पनि कानमा गुञ्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मियता कहिल्यै मेटिँदैन।
बिहीबार रेसमसहितका नेताहरू नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा पुगिसकेपछि रञ्जिताले फेरि अर्को स्टाटस लेखेर अध्यक्ष प्रस्ताव गरिएका कवीर सोबलाई शुभकामना दिएकी छन्।
‘नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष भएकोमा भान्जा कवीरलाई धेरैधेरै शुभकामना,’ रञ्जिताले लेखेकी छन्।
प्रकाशित: १३ कार्तिक २०८२ १७:५३ बिहीबार





