नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्नो छोराको भविष्य र आफ्नो आत्मसम्मानका लागि कानुनी बाटो रोज्ने जनाएकी छिन्।
पति रेशम चौधरीविरुद्ध डिभोर्सको तयारीलाई औँल्याउँदै उनले आफ्नो छोराको भविष्य, अधिकार र आत्मसम्मानका लागि लामो समयको मौनता तोड्दै कानुनी बाटो रोजेको बताएकी हुन्।
सामाजिक सञ्जालमा सम्बन्धको मर्यादा, परिवारको सम्मान र संस्कारका कारण आफूले वर्षौँसम्म पीडा लुकाएर बसेको उल्लेख गरेकी छन्।
उनले आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा अभाव महसुस गर्नुपरेको भन्दै त्यसले आफूलाई गहिरो पीडा दिएको बताइन्।
‘मैले उसलाई कहिल्यै उसको बुबाविरुद्ध विष भरिनँ। उसको बालमनमा घृणा रोपिनँ,’ उनले लेखेकी छन्, ‘बच्चाले आमाबुबाबीचको विवादको भार बोक्नु हुँदैन। तर बुबा हुनु केवल सम्बन्धको नाम होइन—यो सन्तानप्रतिको जिम्मेवारी पनि हो।’
उनले लामो समयसम्म मौन बसेपछि आफूले कानुनी बाटो रोजेको बताइन्। उनले भनिन्,‘कसैलाई अपमान गर्ने अभियान होइन। आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्ने मेरो अधिकार हो। अब कसैले यसलाई भावनाको विषय ठान्न सक्छ, कसैले व्यक्तिगत विवाद भन्न सक्छ। तर केही विषयहरू सामाजिक सञ्जालको बहसले होइन, कानुन र प्रमाणले टुंगिनुपर्छ।’
उनले आफूले कसैलाई दोषी घोषणा नगरेको स्पष्ट पार्दै त्यसको निर्णय गर्ने अधिकार कानुनको भएको उल्लेख गरिन्। ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिँदिनँ। म कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ,’ उनले लेखेकी छन्, ‘तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’
रेशम चौधरीले रञ्जितालाई छोडेर आशा चौधरीसँग दोस्रो विवाह गरेका थिए। लामो समयदेखि रेशम र रञ्जिता अलग बसिरहेका छन्। रेशमको रञ्जितातर्फ एक छोरा छन् भने आशातर्फ एक छोरी छिन्।
रञ्जिताले रेशमविरुद्ध बहुविवाहको मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ।
प्रकाशित: ३१ भाद्र २०८३ ११:४२ बुधबार





