३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

५५-३० को अन्योलमै आयोगले आवेदन खुलाउँदै

संघीय निजामती सेवा ऐनको मस्यौदामा प्रस्तावित ५५-३० को व्यवस्था पास हुने/नहुने अन्योल रहेका बेला लोकसेवा आयोगले बुधबारदेखि निजामती सेवामा आवेदन खुलाउने निर्णय गरेको छ।

आयोग प्रवक्ता पुरुषोत्तम शर्माले आयोगले बुधबारदेखि आवेदन खुलाउने निर्णय गरेको बताउँदै भने, ‘बुधबार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को विज्ञापन खुलाउँछौं। त्यसपछि क्रमशः अन्य पदको पनि आवेदन खुलाउँछौं।’

उनका अनुसार बुधबार खुला र बढुवा दुवै कोटामा सहसचिव पदमा आयोगले विज्ञापन खुलाउने छ। ‘वार्षिक कार्यतालिकाअनुसार हामी विज्ञापन खुलाउने छौं’, उनले भने।

सरकारले निजामती सेवा ऐनको मस्यौदामा सहमतिका लागि लोकसेवा आयोगमा पठाएको छ। सरकारले पठाएको उक्त ऐनको मस्यौदामा निजामती सेवा ५५ वर्ष उमेर पुगेका या ३० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारी अनिवार्य अवकाशमा जाने व्यवस्था गरिएको छ। विधेयकमा राखिएको यो व्यवस्थाले निजामती सेवामा तरंग उत्पन्न गराएको छ।

लोकसेवा आयोगले ५५–३० को प्रावधानलाई सहमति दिन्छ या दिन्न भन्ने अन्योल छ। प्रवक्ता शर्माले यसबारेमा आयोगले निर्णय गरिनसकेको बताए। ‘हामीले निजामती सेवा ऐनको मस्यौदामा समग्र अध्ययन गरिरहेका छौं। कस्तो प्रतिक्रिया दिने भन्ने टुंगो अझै लागेको छैन’, उनले भने।

सरकारले संघीय निजामती सेवा ऐन अध्यादेशको रूपमा ल्याउँछ या ऐनको रूपमा ल्याउँछ, यसको अझै टुंगो लागेको छैन। अध्यादेशका रूपमा ल्याउने हो भने आगामी असोजको तेस्रो सातासम्म अध्यादेश आउने सम्भावना छ। किनभने असोजको दोस्रो सातापछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने सम्भावना छ। ऐनका रूपमा आउने हो भने अझै ५/६ महिना लाग्छ।

अध्यादेशका रूपमा आउने हो भने लोकसेवा आयोगले आवेदन खुलाउने संख्या प्रभावित हुने निश्चित छ। किनभने ५५–३० को प्रावधान लागु हुनेबित्तिकै तत्काल करिब १३ हजार कर्मचारी रिक्त हुनेछन्। त्यतिबेला ठुलो संख्यामा कर्मचारी आवश्यक पर्छ। त्यसैले यस्तो अन्योलका बेलामा आयोगले आवेदन खुलाउन लागेको हो।

आयोगले कति संख्यामा आवेदन खुलाउँछ भनी सोधिएको प्रश्नको जवाफमा प्रवक्ता शर्माले भने, ‘संघीय मामिला मन्त्रालयले माग गरेका आधारमा हामीले आवेदन खुलाउँछौं। त्यसैले अहिल्यै यति नै संख्यामा आवेदन खुलाउँछौं भन्न सकिने स्थिति छैन।’

सामान्यतः आयोगले हरेक असोजको अन्तिम बुधबारदेखि आवेदन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म कायम रहन्छ तर यसपटक आयोगले वार्षिक कार्यतालिका परिवर्तन गरेको छ। आयोगले आगामी पुसको अन्तिम बुधबारसम्म सबै पदमा खुलाइने कार्यतालिका बनाएको छ।

गत साउन ५ गते मुख्यचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले यस वर्ष लोकसेवा आयोगले निजामती सेवामा आवेदन लागि विज्ञापन आह्वान नगर्ने निर्णय गरेको थियो, तर उक्त निर्णयलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले ६ घन्टामै सच्याएको थियो।

त्यतिबेला नै प्रधानमन्त्री कार्यालयले लोकसेवा आयोगका नियमित प्रक्रिया नरोकिने प्रस्ट पारेको थियो। हरेक वर्ष लोकसेवा आयोगमा विभिन्न परीक्षामा चारदेखि पाँच लाख युवाले तयारी गरेका हुन्छन्। तीमध्ये करिब तीन हजार पाँच सय युवा निजामती सेवामा प्रवेश गरेका हुन्छन् तर आयोगले परीक्षा रोक्दा युवामा निराशा उत्पन्न हुने निश्चित छ। त्यसैले आयोगको भर्ना प्रक्रिया नियमित हुनुपर्छ भन्ने प्रधानमन्त्री कार्यालयको बुझाइ रहेको एक कर्मचारीले बताए।

प्रकाशित: ३१ भाद्र २०८३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App