नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले जेन–जीलाई राजनीतिमा सक्रिय र संगठित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छिन्। उनका अनुसार, यो पुस्ता कुनै वर्ग, जात, विचारधारा वा भूगोलमा सीमित नभई निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो, जसलाई देशको भविष्यका रूपमा तयार पार्न जरुरी छ।
‘जेन–जीकुनै पार्टी होइन, कुनै विचारधारा होइन, यो त निश्चित समयमा जन्मिएका मानिसहरूको समूह हो,’ सामाजिक सन्जालमा झाक्री लेख्छिन्, ‘त्यसैले यस पुस्तालाई राजनैतिक र वैचारिक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ। देशको नेतृत्व गर्न सक्ने क्षमता यही पुस्तामा छ।’
नेतृ झाँक्रीका अनुसार, राजनीतिक दलका युवा र विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बन्दै गएकै कारण यो पुस्ताले नयाँ रूपमा अभिव्यक्ति दिन थालेको हो। ‘विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाइज्याक गरे,’उनले भनिन्।
उनले यो अभियानलाई दीर्घकालीन र आवश्यक कदमका रूपमा व्याख्या गर्दै थपिन्, ‘आत्तिनु पर्दैन, यो एउटा अभियान हो। मिल्नेहरू जोडिँदै जानेछन्, नमिल्नेहरू आफैं छुट्नेछन्।’
झाँक्रीले अन्त्यमा भनिन्, ‘तपाईंहरूको प्रयास ठिक दिशामा छ। देशको रूपान्तरण यही पुस्ताबाट सुरु हुन्छ। अगाडि बढ्नुस् — मेरो सधैं साथ र शुभकामना छ।’
प्रकाशित: १२ कार्तिक २०८२ ०८:४५ बुधबार




